–परिवर्तन भट्टराई (कृति)
लामो समयको अन्तरालमा काँडेतार फिल्म हेर्ने अवसर प्राप्त भयो । त्यसका लागि निर्माता नवल खड्कालाई धेरै धन्यवाद । चलचित्र अर्थात् फिल्म काल्पनिक हुन्छन् । विषय पनि काल्पनिक र पात्रहरु पनि काल्पनिक भनिएको हुन्छ । जति नै काल्पनिक भनिएपनि त्यो यथार्थ नै हुन्छ । त्यहाँ समाज हुन्छ । त्यहाँ देश हुन्छ । त्यहाँ इतिहास हुन्छ । त्यहाँ जीवन हुन्छ । प्रत्यक्ष रुपमा कसैलाई ठेस नपुगोस् भन्नाको खातिर विषय र पात्रलाई काल्पनिक भनिएको हुन्छ । साँच्चै नै काल्पनिक हुने हो भने जीवन र जगतभन्दा बाहिरको कुरा हुनुपर्छ । मान्छेले अनुभूत नगरेको तर होला भनि कल्पना गरिएको हुनुपर्छ । काल्पनिक भनिएपनि यथार्थसँग जोडिएको फिल्म साँच्चै हेर्न लायक हुन्छ । प्रायः फिल्महरु पारिवारिक, सामाजिक र सांस्कृतिक विषय उठान गरेर बनाइएका हुन्छन् । त्यसमा मायाप्रेमका कुरा जोडिएका हुन्छन् । जस्तो भएपनि फिल्मले केही न केही सन्देश दिन खोजेकै हुन्छन् । राष्ट्रियता र इतिहाससँग जोडिएका फिल्म प्रायः बनाउने आँट गरिँदैन । किनकि त्यसमा सामान्य मात्रै गडबढी भयो भने समस्या पैदा हुन्छ ।
काँडेतार फिल्मको चर्चा निकै पहिल्यै देखि भएको थियो । विभिन्न समयमा त्यस फिल्मसँग जोडिएका विषय समाचारमा आएका थिए । त्यसका आधारमा विषयको सामान्य अनुमान त पहिल्यै गरेको थिएँ । त्यो फिल्म हेरेपछि थाहा भयो कि निकै ठूलो सहास गरेर त्यसको निर्माण गरिएको रहेछ । विषय नेपाल–भारत सिमानामा काँडेतार लगाउने छ । सन्देश त्यो भन्दा बढी दिन खोजिएको छ । काँडेतार लगाउने कुरा मात्रै भएपनि त्यहाँ धेरै सहास र सौर्यको जरुरी हुँदैन । तर, त्यहाँ त भारतीय पक्षले नेपाली भू–क्षेत्रमा अत्याचार गरेको विषयलाई जस्ताको तस्तै उतार्न खोखिएको छ । नेपालको पूर्वपश्चिम लम्बाई लगभग ८ सय किलोमिटर छ । पूर्व, दक्षिण र पश्चिममा भारतसँग सिमाना जोडिएको छ । दर्जनौँ ठाँउमा सिमाना मिचिएका छन् । पश्चिममा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय ठाडो हस्तक्षेप दुनियाँलाई थाहा छ । तराईका सीमा क्षेत्रमा दशगजा मिचिएका छन् । सीमा क्षेत्रका जनतामा लुटपाट र हस्तक्षेप भएका समाचार सामान्य जस्ता भएका छन् ।
काँडेतारले ग्रेटर नेपालको कुरा गरेको छ । भारतीय शासकले नेपाली शासकमाथि गरेको दबाब देखाइएको छ । युवाहरुको मनोविज्ञान उतारिएको छ । देश भित्रकै लेण्डुपे प्रवृत्तिको भण्डाफोर गरिएको छ । एसएसबीको ज्यादती देखिन्छ । सतहमा जे विषय उठेका छन् त्यसैलाई उक्त फिल्मले उठाएको छ । मलाई लाग्छ यो नै यति धेरै सहासका साथ निर्माण गरिएको पहिलो चलचित्र हो । नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि कायम छ । त्यसलाई बदल्न सकिँदैन । त्यो सम्बन्ध झनै प्रगाढ बनाउनु पर्छ । जनता–जनताबीचको सम्बन्ध रोटीबेटीको तहमा छ । त्यसलाई बदल्न सकिँदैन । त्यो हुनु कुनै नराम्रो पनि होइन । मुख्य कुरा सार्वभौमिक सम्बन्ध हुनुपर्छ । भारत भूगोल र जनसंख्याको हिसाबले नेपाल भन्दा ठूलो छ । तर, सार्वभौमिकताको हिसाबले बराबर हो । काँडेतारले सार्वभौमिकता अर्थात् राष्ट्रियताको कुरा उठाएको हो । खुल्ला सिमानाका कारण भएका समस्या समाधान गरौँ भनेको हो । शुभकामना !