प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

 

नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र साँघुरो कोठा छ । दिवा खाजाका लागि भान्छाका भाँडाकुँडा र शैक्षिक सामग्रीसमेत राखिएको उक्त कक्षाकोठामा ३४ विद्यार्थी भर्ना भएका छन् । नेपालगञ्जको तापक्रम बढ्ने क्रममा छ । त्यसै पनि शारीरिक र मानसिकरुपमा कमजोर बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरो कोठामा पसिनाले निथु्रक्क भिजेर बस्नुपर्दा उनीहरू शिक्षा आर्जनभन्दा पनि यातना भोग्दै गरेको आभास हुने गर्दछ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीमैत्री भवन नभएका कारण गर्मी र जाडोको समयमा पठनपाठनमा समस्या हुने गरेको बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका शिक्षक विराज सिंहले जानकारी दिनुभयो । बालबालिकालाई खेल, मनोरञ्जन, अभ्यास, व्यावहारिक ज्ञानका माध्यमबाट पठनपाठन गराइने सिंहको भनाइ छ । “प्रत्येक बालबालिकाको व्यक्तिगत फाइल बनाई अवस्था के थियो, के सुधार भयो भन्ने कुराको विवरण राख्नुका साथै बालबालिकालाई सचरित्र वर्णन गराएर अनुकरण गराउने गरिन्छ”, शिक्षक सिंहले भन्नुभयो, “शौचालय र खानेपानीको पनि अभाव, साँघुरो कक्षाकोठा भएकाले विद्यार्थीलाई पठनपाठनमा धेरै असहज भइरहेको छ ।” विसं २०४९ देखि सुरु भएको दिवा सेवालाई प्राप्त हुँदै आएको वैदेशिक अनुदान रोकिएपछि केन्द्रमा आर्थिक सङ्कट उत्पन्न भएको छ । अमेरिकन नागरिक फादर कोरन ज्याकको सहयोगमा मङ्गलप्रसाद माविमा सुरु भएको सेवाकेन्द्र १६ वर्षसम्म राम्रोसँग सञ्चालन भइरहेको थियो । सहयोग रोकिएपछि बाँके गाउँस्थित सरस्वती आधारभूत विद्यालयमा सञ्चालन हुँदै आएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाको यो दिवा सेवा केन्द्रमा उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाटसमेत विद्यार्थी अध्ययनका लागि आउने गरेको सरस्वती प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार चौधरीले बताउनुभयो । उहाँले विद्यालय भवन र आर्थिक स्रोतको अभावमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको वातावरण दिन नसकिएको सुनाउनुभयो । बौद्धिक अपाङ्ग दिवासेवा केन्द्र सुस्त मनस्थिति अभिभावक सङ्घ नेपालगञ्जको प्रत्यक्ष रेखदेखमा अहिले जसोतसो सञ्चालनमा रहेको छ । बाह्य सहयोगबाहेक कुनै पनि स्रोत नभएको यो सेवा केन्द्रको मासिक खर्च रु ६० हजार रहेको सुस्त मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट शिक्षक, रिक्सा चालकको पारिश्रमिक, बालबालिकाको खाजादेखि केन्द्र सञ्चालनमा खर्च हुन्छ । विगत लामो समयदेखि न्यून तलबमा शिक्षक सिंहले केन्द्रमा आउने बौद्धिक अपाङ्ता भएका बालबालिकालाई पढाउने काम गर्दै आउनुभएको छ । “सेवा केन्द्रलाई आर्थिक समस्या त छ नै, केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको अभावका साथै बालबालिकामैत्री वातावरण छैन”, अध्यक्ष आचार्यले गुनासो सुनाउनुभयो । उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक गोर्ख थापाले बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रमा भौतिक पूर्वाधारको कार्यक्रम नरहेको बताउनुभयो । बौद्धिक अपाङ्गता भएका बालबालिकाको छात्रवृत्तिबापतको रकम उपमहानगरपालिकाबाट उपलब्ध गराइँदै आएको छ । वडा नं ९ का वडाध्यक्ष गोविन्द रेग्मीले बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकको बेवास्ताका कारण पनि केन्द्र राम्रोसँग सञ्चालन हुन नसकेको उल्लेख गर्नुभयो । वडा कार्यालयबाट सम्भव हुने सहयोग गर्दै आएको जानकारी दिँदै उहाँले नेपालगञ्जका सबै वडा कार्यालय र उपमहानगरपालिकाबाट पनि सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *