भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो । सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उहाँले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा हुने कुनै पनि घटना न्यूनीकरणमा सबैले सहयोग गर्नुपर्छ ।” वर्षालगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरुप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताउनुभयो । कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई व्याग, वाटर ग्लासलगायतका २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । रु छ लाख ६६ हजार तीन सय ८३ बराबरको सामान खरिद गरि हस्तान्तरण गरिएको हो ।