पूर्वउपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताउनुभएको छ । राजविराजमा आज मधेस कृषि विश्वविद्यालय, महाविश्वविद्यालयमा बिएस्सीएजीको पठनपाठन शुभारम्भ कार्यक्रममा उहाँले विश्वका विभिन्न मुलुकहरू कृषिकै कारण समृद्ध भएको तर नेपाल जस्तो कृषि प्रधान देशले उर्वरभूमि हुँदा पनि प्रगति गर्न नसकेको बताउनुभयो र उहाँले नेपालमा बर्सेनि चार खर्बको खाद्यान्न लगायतका सामग्रीहरू आयात हुँदै आएको छ, यो अन्यन्तै दुःखद हो भन्दै परम्परागत खेतीले जीवन निर्वाह भए पनि प्रगति गर्न नसकिने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष यादवले कृषिमा आधुनिकीकरण आवश्यक रहेकोले कृषि र शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । “किसानलाई प्रविधिसँग जोडेर कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन एवं रोजगारमूलक बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रलाई विज्ञान–प्रविधिसँग जोडेर अगाडि बढे नेपाल उत्कृष्ट मुलुक बन्ने कुरा निश्चित छ ।” जसपा अध्यक्ष यादवले शिक्षाको स्तर खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षामा समेत जोड दिनुभयो । मधेस प्रदेशमा कृषि विश्वविद्यालय स्थापना भई कक्षासमेत सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “अब कृषिसम्बन्धी अध्ययन अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा योगदान मिल्नेमा आशावादी छु ।” “मधेस कृषि विश्वविद्यालय राजविराजमा स्थापना हुँदा केही व्यक्तिले बोर्ड मात्रै झुन्ड्याएको भन्दै कक्षा पनि सञ्चालन हुन्छ र ? भनी मजाकसमेत उडाए”, उहाँले भन्नुभयो, “आज कृषि विश्वविद्यालयले बिएस्सीएजीको पठनपाठन सञ्चालन गर्दैछ, यो नै मजाक उडाउनेहरूका लागि जवाफ हो ।” सोही कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेश सरकारले आवश्यकता र औचित्यका आधारमा कृषि, सिँचाइ, शिक्षालगायतका छुट्टै मन्त्रालयहरू विस्तार गरी अगाडि बढ्ने बताउनुभयो । “विषयगत मन्त्रालय भएपछि सम्बन्धित विषयमा काम गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले कृषि र शिक्षालाई प्राथमिकतामा राखी काम अगाडि बढाएको छ, उत्पादन एवं रोजगारमूलक क्षेत्रहरूमा मधेस प्रदेश सरकारले बजेट विनियोजन गर्न लागेको छ ।” आफूहरू नीति तथा कार्यक्रम र बजेट विनियोजनमा केन्द्रित रहेको चर्चा गर्दै मुख्यमन्त्री यादवले निर्वाचनका कारण लागेको आचारसंहिताले गर्दा अपेक्षाकृत काम अगाडि बढाउन नसकिए पनि नयाँ आर्थिक वर्ष साउनको दोस्रो सातादेखि नै मधेस प्रदेश सरकारका कामहरु अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशकुमार यादवले मधेसको साक्षरता प्रतिशत अन्यन्तै न्यून रहेकाले आफूले जिम्मेवारी सम्हालेकै दिन मधेसलाई पूर्ण साक्षर प्रदेश बनाउने निर्णय गरेको बताउनुभयो । प्रदेश नीति आयोगका अध्यक्ष डा नाथुराम चौधरीले मधेश प्रदेशलाई पूर्ण साक्षर बनाउन हामी प्रतिबद्ध छौँ भन्दै नीति तथा कार्यक्रम र बजेट विनियोजनमा मधेस प्रदेश सरकारले कृषि, शिक्षा, रोजगार एवं उत्पादनमूलक योजना तथा कार्यक्रमलाई प्राथमिकतामा दिने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति डा वैद्यनाथ महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा रजिष्ट्रार डा भगवान् ठाकुरले कृषिको आधुनिकीकरण र रूपान्तरण गरी जनताको सामाजिक र आर्थिक स्थितिमा सुधार ल्याउन उच्च शैक्षिक र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयमा हाल कृषि स्नातक कक्षा शुभारम्भ भए पनि विद्यावारिधिसम्मको अध्ययन अध्यापनका साथै कृषिमा अनुसन्धानहरू हुने छन् । राजविराजमा मधेस कृषि विश्वविद्यालयमा हाल बिएस्सीएजी अध्ययनका लागि ५० जना विद्यार्थीले भर्ना लिएका छन् ।
 
					



 
								 
								 
								