आफूहरुलाई पुनःस्थापना गर्नका लागि बजेट विनियोजन गर्न मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाले माग गरेका छन् । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै मुक्त हलिया, कमैया, कमलरी तथा हरवाचरवाको प्रतिनिधि टोलीले आगामी आर्थिक वर्षको बजेटमा पुनःस्थापनाका लागि बजेट विनियोजन गर्न माग गरेको हो । सरकारले पटक पटक कमैया, कमलरी, हलिया र हरवाचरवालाई मुक्तिको घोषणा गरेको भए पनि हालसम्म सरकारको नीति तथा कार्यक्रममा पुनःस्थापनाको कार्यक्रम नराखेको भन्दै यसपटकको बजेटमा पुनःस्थापनाको कार्यक्रम राख्न माग गरिएको मुक्त कमैया विकास मञ्च कैलालीका कार्यक्रम संयोजक इन्द्रजित चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी बजेट हरवाचरवाको पक्षमा आउनुपर्ने माग गरेका छौँ, हरवाचरवालाई मुक्तिको घोषणा गरेर हुँदैन बजेट विनियोजन हुनु प¥यो ।” उहाँका अनुसार आज पेस गरिएको ज्ञापनपत्रमा मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ । यसैगरी, पुनःस्थापनासम्बन्धी कार्यविधि पारित गर्न, हरवाचरवाको लगत सङ्कलन गर्न र हरवाचरवा मिटरब्याजीको समेत समस्यामा परेका कारण सो समस्याको पनि समाधान गर्न माग गरिएको छ । मुक्त कमैयाहरु हाल जुन भूमिमा छन् सोही जमिन नापी गरी लालपुर्जा दिनुपर्ने, कमैयाले प्राप्त गरेको जग्गा बैंकमा राखी ऋण लिन पाउने नीतिगत व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखिएको छ ।