पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

 

सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएर खेलकुदमा योगदान गर्नुभएका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो । पोखरा स्पोर्टस् अवार्ड यही वैशाख २३ गते हुँदैछ । सोही समारोमा उहाँलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । नेपाली खेलकुदको विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सो अवार्ड प्रदान गर्ने गरिएको छ । मर्सानीले गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न योगदान गर्नुभएको छ । यसअघि अग्रज खेलकुदकर्मी कृष्ण थापा, खड्कबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेशबहादुर भट्टराईले यो विधाअन्र्तगको पुरस्कार पाउनुभएको छ । मर्सानीले पहिलो पटक विसं २०३७ मा बक्सिङ प्रतियोगितामा लिनुभएको थियो । भैरहवामा भएको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगितामा उहाँ गण्डकी अञ्चलबाट छनोट हुनुभएको थिया । उहाँले पहिलो सहभागितामै कास्य पदक जित्नुभयो । विसं २०३८ मा काठमाडौँमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनुभयो । यसैगरी वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य र विसं २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने स्वर्ण पदक हात पार्नुभयो । उहाँले भारतमा अध्ययन गरेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गर्नुभयो । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिर जीवन व्यतित गरेर उहाँ विसं २०७७ असारमा अनिवार्य अवकास पाउनुभएको थियो । वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्थावा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताउनुभयो । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *