आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद

 

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।” नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भए पनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उहाँले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पार्नुभयो । भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमा नाका गौरीफन्टाको बाटो जङ्गल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै उहाँले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताउनुभयो । सो अवसरमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले गौरीफन्टा नाका स्तरोन्नति, नाकामा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाका साथै नागरिकको आवागमन सहज बनाउन र कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा सक्रियता देखाउनुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र पेश गर्नुभएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री साउदले आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एकताबद्ध भएर पार्टी सङ्गठनलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *