नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताउनुभयो । उहाँले आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासन केही नगरेको बताउनुभयो । अध्यक्ष ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचधरमा आक्रमणको प्रयास गरेको बताउनुभयो । “हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन”, उहाँले भन्नुभयो । आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको छ भन्दै उहाँले भन्नुभयो, “त्यो म आफैँले देखेर, भोगेर आएको छु ।” कोही कम्युनिष्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले किसान नेतालाई काममा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले काम नगरेपछि पदमा प्रतिस्पर्धा हुन थालेको भन्दै काम गरेपछि पदमा लडाइँ नहुने धारणा राख्नुभयो । उहाँले किसानको नेताले परिचयपत्र देखाउन नपर्ने बताउनुभयो । “किसान महासङ्घको नेताले परिचयपत्र देखाउनु पर्दैन । उसको घरमा जाँदा बालीनाली हेर्दा किसान महासङ्घको नेता हो भनेर चिन्नुपर्दछ, “उहाँले भन्नुभयो, “धेरै भिण्डी, ठूलो लौका, ठूलो फर्सी लामो घिरौँला फल्ने र जातअनुसारका गाईले धेरै दूध दिनुपर्दछ । तब मात्र किसान नेता हुन्छ ।”