चीनले ताइवानमा गरेको सैन्य अभ्यासको जर्मनीद्वारा आलोचना

 

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकको बेइजिङ भ्रमणको पूर्वसन्ध्यामा जर्मनीले ताइवानमा हालै भएको सैन्य अभ्यासबाट चीनले तनाव बढाएको आरोप लगाएको छ । “चेतावनीका लागिे सैन्य हावभाव जस्ता उपायले अनपेक्षित सैन्य भिडन्तको जोखिम बढाएको हाम्रो बुझाई छ,’ विदेश मन्त्रालयका प्रवक्ता एन्ड्रिया सासेले भन्नुभयो । जर्मनीले यस क्षेत्रमा तनाव कम गर्न योगदान गर्न आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गरिरहेको उहाँले बताउनुभयो । बेयरबोक बुधबार चीनका लागि प्रस्थान गर्नुहुनेछ । उहाँले ताइवान र युक्रेनको युद्धबारे शीर्ष चिनियाँ विदेश र रक्षा अधिकारीहरूसँग छलफल गर्नुहुनेछ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको बेइजिङ भ्रमणपछि यो बिषयले निकै चर्चा पाएको छ । म्याक्रोँले गत साता चीनबाट फर्कने क्रममा ताइवानबारे युरोपले अमेरिकी नीति मान्न नहुने भन्दै केही पश्चिमा मित्रराष्ट्रको आलोचना गर्नुभएको थियो । सासे र चान्सलर ओलाफ स्कोल्जका प्रवक्ताले बुधबार पत्रकार सम्मेलनमा म्याक्रोँको टिप्पणीको जवाफ माग्दा टिप्पणी गर्न अस्वीकार गर्नुभएको थियो । सन् १९४९ मा भएको गृहयुद्धपछि चीन र ताइवान ‘विभाजित’ भएका थिए । बेइजिङले लोकतान्त्रिक टापुलाई आफ्नो भूभागको एक भागको रूपमा हेर्छ र हालैका वर्षहरूमा टापुको वरिपरि आफ्नो सैन्य तथा अन्य गतिविधिलाई बढावा दिँदै कुनै दिन यसलाई मुख्य भूमिमा गाभिछाड्ने बताउँदै आएको छ । वासिङ्टनले दशकौंदेखि ताइपेईलाई आफ्नो आत्मरक्षाका लागि हतियार बेचेको छ र राजनीतिक समर्थनको प्रस्ताव गरेको छ । ताइवानकी राष्ट्रपति साई इङ–वेनले गत साता संयुक्त राज्य अमेरिकाको भ्रमण गरेपछि चीनले तीन दिने सैन्य अभ्यास सोमबार सम्पन्न गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेल बेयरबोकको भ्रमणमा सहभागी हुने कार्यक्रम थियो तर कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उहाँको भ्रमण स्थगित भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *