संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ । “म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत्रुपमा अगाडि बढ्ने छ ।” संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताउनुभएको छ । ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उहाँले भन्नुभयो, “महासचिवले हालैको वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।” खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको “असल छिमेकी सम्बन्ध”लाई “आवश्यक” भनी वर्णन गर्दै डुजारिकले महासचिव “क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न” तयार रहेको बतउनु भएको छ ।