संस्कृति र संस्कारको संरक्षणका लागि दुई सय युवालाई ‘युवा संस्कार शिविर’

 

महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाले समाजको संस्कृति र संस्कारको संरक्षणका लागि पालिकाभित्रका दुई सय युवा/युवतीलाई ‘युवा संस्कार शिविर’ सञ्चालन गरेको छ । समाजबाट हराउँदै गएको मानवीय गुण, मूल्य, मान्यता र सनातन धर्म संस्कृतिको रक्षाका लागि नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत दुई सय युवायुवतीका लागि युवा संस्कार शिविर सञ्चालन गरिएको नगरप्रमुख मोहन पाण्डेले बताउनुभयो । विभिन्न २७ वटा विद्यालयका कक्षा ९, १०, ११ र १२ मा पढ्ने दुई सय छात्रछात्रालाई एकैथलोमा राखेर योग शिक्षा, कुलतबाट मुक्ति, विभिन्न मानवीय गुण, मूल्य, मान्यता र सनातन धर्म संस्कृतिको पालना तथा सभ्य र सुन्दर जीवन निर्माणका आधारभूत कुरा सिकाइरहेको छ । एक सातासम्म सबै विद्यार्थीलाई मोबाइल, टेलिभिजन र अन्य सबै मनोरञ्जनका आधुनिक साधनबाट टाढा राखेर पालिकाले उनीहरूमा सभ्यता र संस्कार सिकाउँदै व्यक्तित्व, समाज र सिङ्गो राष्ट्र सभ्य र भव्य निर्माणका लागि पाइला अघि सारेको छ । समाजमा व्याप्त कुसंस्कार, विकृति र विसङ्गतिलाई चिर्दै मानव विकास गर्ने उद्देश्यका साथ सो पालिकाले सञ्चालन गरेको एक हप्ते युवा संस्कार शिविरमा युवायुवतीलाई योग साधना प्रदान गर्नका लागि भारतको हरिद्वारस्थित पतञ्जली योगपीठबाट पुज्यासध्वी देवविजया आउनुभएको छ भने उहाँसँगै बुटवलका व्यायाम प्रशिक्षक हरिशरण पाण्डे र भक्तपुरबाट अर्का व्यायाम प्रशिक्षक नवराज खत्रीसमेत आउनुभएको छ । अहिले युवा शिविरमा आएका युवायुवती प्रत्येक दिन बिहान ४ बजे उठेर योगाभ्यास र विभिन्न संस्कारका कुरा सिकिरहेका छन् । योग गुरु देवविजयाले यस शिविरमा आएका युवायुवतीले यहाँबाट मानवीय गुण, मूल्य मान्यता र सनातन धर्म संस्कृतिको गौरवको पहिचान गर्ने, कुलतबाट मुक्ति पाउने, निरासा र कुण्ठाबाट मुक्ति पाउने तथा परोपकारलाई अँगाल्दै यिनै महान मूल्यमान्यताका साथ जीवन बिताउन ज्ञान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । मनराशिसवाका प्रमुख पाण्डेले शिविरबाट आफ्नो पालिकाभित्र अध्ययनरत १२ हजार युवायुवतीमा परिवर्तन आउने, आफ्नो कुलत र दुव्र्यसनमुक्त हुने तथा सभ्यता र संस्कृतिले सुसज्जित समाज निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी शिविरमा सहभागी छात्र उत्सवकुमार सिंह र छात्रा सिमरणकुमारी ठाकुरसहित दर्जनौँ युवायुवतीले मनराशिसवा नगरपालिकाले सञ्चालन गरेको यस युवा संस्कार शिविरले वास्तवमै आफूहरूलाई अनुशासन सिकाउनुका साथै समाजबाट लोप हुँदै गइरहेको सभ्यता, संस्कृति, आदर, सत्कार, मान, सम्मान र सनातन धर्म तथा परोपकार भावको जगेर्ना गर्न आफूहरूमा ज्ञान गुणका आयामहरू भर्न सफल भएको महसुस गर्दै यस शिविर सञ्चालन गरिदिएकोमा नगरपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । सहभागी युवायुवतीले अब जीवनमा कहिले पनि कुलतमा नफस्ने, अरुलाई फस्न नदिने तथा आफूले सिकेका ज्ञानगुणका कुरा आ–आफ्ना अध्ययनरत विद्यालय, बस्ने गाउँ, टोल, छिमेक र समाजमा फैलाउने तथा सोको माध्यमबाट सभ्य, भव्य र गौरवशाली राष्ट्र निर्माणका लागि सधैँ तत्पर रहने प्रतिबद्धतासमेत प्रकट गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *