बर्फानी मन्दिर क्षेत्र : धार्मिक गन्तव्य विकसित गरिँदै

 

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । यसले चुरे क्षेत्रमा रहेको सो स्थलको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले भन्नुभयो,“ दर्शनार्थीका लागि आवश्यक धर्मशाला निर्माण, पानी तथा शौचालयको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण शुरु भएको छ, अहिले हेलिप्याड निर्माण सुरु भएको छ ।” बाबा बर्फानीमा नरैनापुर क्षेत्रबाट बाटो बनाइँदैछ । उहाँले आश्रमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले रु ३८ लाख बजेट विनियोजन गरेको बताउनुभयो । बाबा बर्फानी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण थप्न र आवागमनका लागि आवश्यक पूर्वाधार बनाउन आफूले पहल थालिसकेको उहाँले जानकारी दिनुभयो । हिँडेर त्यहाँसम्म पुग्न नसक्ने तीर्थालु तथा पर्यटकको सेवाका लागि हेलिकप्टर प्रयोगको सुविधाका लागि हेलिप्याड बनाउन लागिएको हो । गतवर्ष नाट्टा नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा हेलिकप्टरबाट बाबा बर्फानी र सन्तानेश्वर महादेव जाँदा हेलिप्याडको अभावमा ल्याण्ड हुनसकेको थिएन । उहाँले भन्नुभयो “ढिलै भए पनि काम सुरु भएछ, खुसी लागेको छ,सरकारले पर्यटनलाई बुझेरमात्रै लगानी गरिदिँदा त्यसको लाभ समुदायले लिनसक्छ ।” राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको सङ्गमस्थलमा पर्ने चुरे पहाडमा अवस्थित तपोभूमि बर्फानी बाबाको मन्दिरमा पर्यटनको विकास गरी प्राकृतिक धार्मिक पर्यटकीय सर्किट निर्माण गरिने योजना छ । यसका लागि नरैनापुरस्थित सन्तानेश्वर मन्दिरलाई पनि पूर्वाधारयुक्त बनाउन अध्ययन समेत थालिएको छ । सन्तानेश्वरमा पनि हेलिकप्टरबाट आउन चाहने तीर्थालु भक्तजन तथा पर्यटकका सुविधाका लागि हेलिप्याड बनाइने योजना रहेको छ । सो क्षेत्रमा चुरे क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासको सम्भावना रहेकाले सरोकारवाला निकाय पर्यटन प्रवद्र्धनमा जुटेका जनाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *