म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन् । समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताउनुभयो । ‘‘युवा कुलतमा फस्दा सिङ्गो समाजलाईनै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचबिखन गर्नेलाई जरिवानै तोकेका छौँ’’, अध्यक्ष बुढाले भन्नुभयो । महिलालाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसङ्गतिको अन्त्यको लागि सक्रिय समूहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ । गाउँभरिका पसलमा सिसा, बियर तथा रक्सीका कुनैपनि सामग्री लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिनुभयो । समाजलाई सभ्य बनाउन र विकृति नियन्त्रण गर्न समूहले चालेको अभियानलाई सार्थक बनाउनुपर्ने निर्वतमान वडाध्यक्ष समेत रहनुभएकी स्थानीय अगुवा पिपला बुढाले बताउनुभयो । उहाँले समाज परिवर्तन र रुपान्तरण सबैको साझा दायित्व भएकाले आमा समूहले सञ्चालन गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । आमा समूहले मदिरा लगायतका मध्यपानको हानि र असरको बारेमासमेत टोल र बस्तीस्तरमा सचेतना अभियान सञ्चालन गर्न सुरु गरेको छ । घरघरमा पुगेर मध्यपान र जुवातासमा लगाइएको निषेधको बारेमा जानकारी गराउने र अटेर गर्नेलाई जरिवाना सहितको कारबाही गरिनेबारेमा सचेतना जगाउन थालिएको आमा समूहकी सचिव स्थानीय शिक्षिका सुनिता पुनले बताउनुभयो । उहाँका अनुसार कसैले नियमविपरीत कार्य गर्ने गराउने तथा रक्सी खाएर समाजमा हो–हल्ला, झै–झगडा तथा अशान्ति फैलाउने गरेमा पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटकमा रु १५ हजार जरिवाना गर्ने र प्रहरी प्रशासनलाई जिम्मा लगाउने नियम बनाइएको छ ।