संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफ्रिका महादेश र यसका जनतालाई घेरेका बहुआयामिक चुनौतीहरूको सामना गर्न अफ्रिकासँग ऐक्यबद्धताका लागि आह्वान गर्नुभएको छ। शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महाचसिव गुटेरेसले यस महाद्वीपमा आतङ्कवाद, हिंसा, असुरक्षा र द्वन्द्वले मानव जीवन र मानव अधिकारलाई खतरामा पारेको र केही देशमा प्रजातान्त्रिक गतिविधि हराउँदै गएको बताउनु भएको छ । “जीवित सङ्कटको लागत – बढ्दो खाद्यान्न र ऊर्जा लागत, जलवायु पतिवर्तनले निम्त्याएको असरले यस क्षेत्रलाई नराम्ररी गाँजेको बताउदै महासचिवले यी कारक तत्तहरूले बाढी र घातक खडेरी निम्त्याउँने बताउनु भएको छ । उहाँले शान्ति-सुरक्षामा जटिलता निम्तिन सक्ने भन्दै व्यापक आतङ्कवाद लगायतका अमानवीय गतिविधिहरूले यस महाद्वीपका मानिसहरूको जीवनलाई जोखिममा पारिरहेको उल्लेख गर्नु भएको छ । यसैगरी महासचिव गुटेरेसले थुप्रै अफ्रिकी देशहरूलाई ऋण राहत र सहुलियतपूर्ण वित्तपोषणलाई अस्वीकार गर्ने एक निष्क्रिय र अनुचित विश्वव्यापी वित्तीय प्रणालीमा सुधार गर्नका निम्ति समेत आग्रह गर्नु भएको छ । “हामीले यस्ता जटिलतालाई सुधार गर्दै यहाँको प्राकृतिक, मानवीय, सांस्कृतिक र उद्यमशीलताको संस्कृतिलाई बढावा दिनुपर्ने धारणा राख्नु भएको छ । म विश्वलाई अफ्रिकाको लागि काम गर्न, अफ्रिकाको अर्थतन्त्रको लागि काम गर्न आह्वान गर्दछु,” उहाँले भन्नुभयो । महासचिव गुटेरेसले अफ्रिकाभरि भोकमरी विरुद्ध लड्न र विश्वभरका अनेक खालका सङ्कटबाट पीडित सबैभन्दा कमजोर मानिसहरूलाई सहयोग गर्न २५० मिलियन अमेरिकी डलरको सहयोग पनि घोषणा गर्नुभयो। उहाँले अफ्रिकी संघको नेतृत्वमा शान्ति प्रवर्तन मिसनहरू र सुरक्षा परिषद्ले अनुमानित कोषको साथमा आतङ्कवाद विरोधी कार्यहरू सृजना गर्ने प्रस्ताव पनि गर्नु भएको छ ।