धार्मिक प्रहरीको हिरासतमा मासा अमिनी मारिएकी भन्दै महिनौदेखि देशका विभिन्न भागमा जारी विरोधप्रदर्शनका क्रममा पक्राउ परेका एक जना पत्रकारलाई आज रिहा गरिएको छ । महिलाका निम्ति सरकारले निर्धारण गरेको पोशाक अनुशासन पालना नगरेको अभियोगमा गत सेप्टेम्बरमा पक्राउ परेकी २२ वर्षीया मासाको हिरासतमा मृत्यु भएपछि देशभर भएका विरोध प्रदर्शनका क्रममा हजारौँलाई हिरासतमा लिइएको छ । राजनीतिक कार्यकर्ता तथा पत्रकार होसिन याज्दीलाई इस्फान सहरको कारागारबाट आज रिहा गरिएको हो । गत डिसेम्बर १५मा पक्राउ परेका उनलाई एक वर्ष कैद सजाय भएको थियोभने दुई वर्ष यात्रा प्रतिबन्ध लगाइएको थियो ।मोबिन २४ वेबराइटका तथा इरान टाइम्स न्युज च्यानलका उनी व्यवस्थापक थिए । यसअघि तेहरानको इभिन कारागारबाट सात जना महिला कार्यकर्ता एवम् पत्रकार रिहा भएका इरान बाहिरका सञ्चार माध्यमले जनाएका थिए । रिहा भएका उनीहरू इरानका सर्वोच्च नेता आयतोल्ला अलि खमेनीको हालैको आममाफी दिने घोषणाअन्तर्गत कारगारमुक्त गरिएका हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन । उहाँले विरोध प्रदर्शनमा सहभागी भएको अभियोगमा पक्राउ परेका धेरै दोषीलाई क्षमा दिने घोषणा गर्नुभएको थियो । इरानी अधिकारीहरूले विरोधप्रदर्शनले हिंसात्मक रुप लिँदा सयौँ सर्वसाधारणसहित दर्जनौँ सुरक्षाकर्मी मारिएका बताएका छन् । उनीहरूले विरोधप्रदर्शनलाई दङ्गाका रुपमा वर्णन गरेका छन् ।