प्रतिपक्ष दलको भूमिका निर्वाह भएन : बिजुक्छेँ

 

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभएको छ । आज रफत सञ्चार क्लब भक्तपुरको १३औँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दलले सरकारलाई समर्थन गर्ने कहीँ नभएको चलन कांग्रेसले ल्याएको आरोप लगाउनुभयो । बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्ष दल त छायाँ सरकारका रुपमा रहेर सरकारको गतिविधिलाई नियाल्नुपर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्ष दलको हो, कांग्रेसले त्यो जिम्मेवारी छाडिदियो ।” संसद्मा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छँेले भन्नुभयो, “राप्रपाले हिन्दू राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसद्मा सभामुखले रोक्नु गलत हो, संसद्मा बोल्न पाउनुपर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइँदैन ।” कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमतिअनुसार कार्यान्वयन कसरी गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभयो । प्रधानमन्त्री दाहाललाई सुझाव दिन्छु भन्दै ज्ञवालीले भन्नुभयो, “कुन र कस्तो कठिन अवस्थामा नयाँ सङ्कल्पका साथ एमालेले प्रचण्डलाई सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्व नेतृत्व गर्नुस् त्यो मेरो सुझाव हो, इतिहासले पटक पटक अवसर दिँदैन ।” उहाँले मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको उल्लेख गर्नुभयो । नेपाली सञ्चारमाध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनीयताको खडेरी लागेको भन्दै उहाँले कतिपय समाचार हेर्दा चाहिनेभन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढङ्गले आएकाले त्यस्ता कार्य रोकिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, कल्पना स्मृति कोषका अध्यक्ष एवं रफत सञ्चार क्लबका संरक्षक प्रेमबहादुर थापा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव नारायणसुन्दर किलम्बु, महासङ्घ भक्तपुरका अध्यक्ष जगत प्रजापति, रासस भक्तपुरका विशेष समाचारदाता रमेश गिरीलगायतले रफत सञ्चार क्लबले १३ वर्षमा भक्तपुरलाई चिनाउन खेलेका भूमिकामाथि चर्चा गर्नुभयो । रफत सञ्चार क्लबका अध्यक्ष शसिलबन्धु थापाले भक्तपुर सञ्चार क्षेत्रमा निकै पछाडि परेको अवस्थामा सुरु भएको क्लबले राजनीतिक, सामाजिक, सांस्कृतिक बहस, छलफल गर्दै आवाज विहीनहरुको आवाजलाई समेत उठान गर्दै आएको बताउनुभयो । दुई पत्रकार र एक स्वास्थ्यकर्मीलाई पुरस्कार नेमकिपाका अध्यक्ष बिजुक्छेँले आज सोही कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस)मार्फत लामो समयदेखि पत्रकारिता गर्दै भक्तपुरलाई देशविदेशमा चिनाउन उल्लेख्य भूमिका खेलेको भन्दै राससकर्मी रमेश गिरीलाई नगदसहित पुरस्कार प्रदान गर्नुभयो । क्लबले प्रदान गरेको रु पाँच हजार पाँच सय नगद पुरस्कारसहित राससकर्मी गिरीलाई ‘रफत क्रियाशील पत्रकारिता पुरस्कार’ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । गिरीले प्राप्त नगद पुरस्कार भने कल्पना स्मृति कोषमा रहने गरी कोषका अध्यक्ष थापालाई हस्तान्तरण गर्नुभयो । त्यसैगरी कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार नारायणसुन्दर किलम्बूलाई क्रियाशील पत्रकारिता पुरस्कार र ख्वप अस्पताल भक्तपुरमा बिरामीहरूका सेवामा अहोरात्र खटिनुभएका हाडजोर्नी विशेषज्ञ डा मजेशप्रताप मल्ललाई कल्पना स्मृति स्वास्थ्य पुरस्कार जनही नगद रु पाँच हजार पाँच सयसहित बिजुक्छेँले पुरस्कार प्रदान गर्नुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *