पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

 

पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ । सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आउनुभएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो । पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उहाँको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् । मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उहाँ पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहनुभएको थियो । जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेका,े जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो । साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ । ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भन्नुभयो, “अन्ततः उहाँले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गर्नुभएको थियो । पाकिस्तानी सेनाले उहाँबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन । उहाँको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो । मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो । गत ग्रीष्मऋतुमा उहाँको परिवारले उहाँलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो । सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *