सर्लाहीको हरिवन नगरपालिका–३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमिनश कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन् । हरिवन–३, ४ र ५ का कोभिड–१९ पीडित विपन्न किसानले बगरमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दै आएका छन् । नदी उकास, खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट पर्याप्त उत्पादन भएपछि जीविकोपार्जन गर्न सहज भएको हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले बताउनुभयो । किसानले बगरखेती गरी उत्पादन गरेको तरकारी बिक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि घर व्यवहार चलाउन सहज भएको छ । तीन समूहमा विभाजन गरी कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दा जीविकोपार्जनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हरिवन–३ मोहनपुरकी किसान एवं मोहनपुर कृषि सामुदायिक वन समूहकी अध्यक्ष गङ्गाकुमारी ब्लोनले बताउनुभयो । हाल उक्त वन समूहमा ६६ विपन्न कृषक आवद्ध छन् । उनीहरुले खुर्सानी, करेला, लौका, कांक्रा, फर्सी, भिण्डीलगायत तरकारी उत्पादन गर्दैआएका छन् । कृषि सामुदायिक वन समूह निर्माण गरेर नदी उकास तथा बगरको खेर गएको जमिनमा उत्पादन गरेको तरकारी बिक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेकोसमेत उहाँले बताउनुभयो । “तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौँ, त्यो पैसा कहिलेकाहीँ बीउबिजन किन्न तथा पैसा अभाव भएको समयमा समूहका सदस्यले पालैपालो चलाउने गरेका छौँ”, अध्यक्ष ब्लोनले भन्नुुभयो । सामुदायिक वनको खाली, पर्ती जग्गा र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि घर व्यावहार चलाउन सहज भएको छ । हरिवन–४ की अजमिरी खातुनले तरकारी खेतीबाट मनग्य आन्दानी गर्नुभएको छ । समूहकी कोषाध्यक्षसमेत रहनुभएकी उहाँले खर्बुजा, काँक्रा, बोडी, भाण्टालगायत तरकारी लगाउनुभएको छ । ग्रामीण स्वयंसेवक समाज हरिवनले करिब २० बिघा जमिनमा विभिन्न कृषक समूह बनाई सामूहिक तरकारी खेती गरेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली पर्ती, ऐलानी र खेर गइरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट हरिवन नगरपालिका–३ का ६६ परिवार, हरिवन नगरपालिका ४ का ४८ परिवार र हरिवन नगरपालिका–५ का ८६ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।
