सोमालियाको राष्ट्रिय सेनाले विद्रोही समूह अलशबाबविरुद्ध गरेको कारबाहीमा ३९ जना विद्रोही मारिएका छन् । सेनाले देशको मध्यभागमा अवस्थित शहर हारार्देरे नजिक गरिएको कारबाहीमा ती विद्रोही मारिएका बताएको छ । सोमालियाका अन्तर्राष्ट्रिय साझेदारहरूको सहयोगमा क्रियाशील सेनाले युद्ध क्षेत्रबाट भाग्ने क्रममा यात्रीबाहक एउटा बसमा आगजनी गर्ने लडाकालाई पनि मारेको राज्य सञ्चालित रेडियो मोगादिसुले जनाएको छ । राष्ट्रिय सेनाले विद्रोहीविरुद्धको कारबाहीमा उल्लेखनीय प्रगति हासिल गरेको सैनिक कमाण्डर मोहम्मद तहलिललाई उद्धृत गर्दै उक्त रेडियो समाचारमा उल्लेख गरिएको छ । राजधानी मुगादिसुमा आतङ्वादी समूहले गरेको घातक हमलाको एकदिन पछि सेनाले उक्त कारबाही गरेको हो । गत शुक्रबार अमेरिकी सेनाले गरेको हवाई आक्रमणमा ३० जना विद्रोही मारिएका थिए । राजधानी मोगादिसुबाट करिब दुई सय ६० किलोमिटर उत्तरपूर्वमा रहेको गाल्काडा शहर नजिक अमेरिकी सेनाले हवाई कारबाही गरेको थियो । विगत केही दिनदेखि सोमाली राष्ट्रि«य सेना र आतङ्वादी सङ्गठन अलशबाका लडाकूबीच भीषण युद्ध भइरहेको छ । यसअघि गल्काडास्थित सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा सात जनाको मृत्यु भएको थियो । सोमाली सूचना मन्त्रालयले भने सैनिक शिविरमा भएको दोहोरो झडमा दर्जनौँ आतङ्कारी मारिएका दाबी गरेको थियो । सन् २००६ देखि अलशबाबले सामालियाको केन्द्रीय सरकारलाई पदच्युत गरी चरमपन्थी इस्लामिक शासन लागू गर्ने उद्देश्यले देशका विभिन्न भागमा रहेका सैनिक शिविर र नागरिकमाथि आक्रमण गर्दै आएको छ ।