न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो बहिर्गमनलाई नकारात्मक नमान्न अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीका रूपमा देशवासीलाई अन्तिम सम्बोधन गर्दै उहाँले न्युजिल्याण्डका जनतालाई आफूले कहिल्यै नबिर्सने बताउनुभयो । जनताका कामले नै आफू आनन्दित भएको उल्लेख गर्दै उहाँले उनीहरू आफ्नो स्मृतिमा सधैँ रहिरहने बताउनुभयो । वामपन्थी राजनीतिमा विश्वव्यापी प्रतीक बन्नुभएकी उहाँले आफ्ना उत्तराधिकारी क्रिस हिप्किन्सको उपस्थितिमा गर्नुभएको बिदाई सम्बोधनमा आफ्ना भावनालाई दबाउन सक्नुभएन । गत आइतबार लेबर पार्टीका नेता क्रिसलाई उक्त दलका सांसदले प्रधानमन्त्रीमा सर्वसम्मतले चयन गरेका हुन् । बुधबार उहाँले शपथ लिनुहुने कार्यक्रम छ । निवर्तमान प्रधानमन्त्री आर्डनले आफू कतै नगएको र अझै पनि माउन्ट अल्बर्टको संसद् सदस्य हुने र राजनीतिको केन्द्रबाट टाढा नरहने बताउनुभयो । बयालीस वर्षकी आर्डर्नले कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा देशको नेतृत्व गर्नुभयो । पाँचवर्षको उहाँको कार्यकाल स्मरणीय रहेको निर्वाचित प्रधानमन्त्री हिप्किन्सले बताउनुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकार प्रमुख हुनुभएको थियो । उहाँले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताउनुभएको छ । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उहाँ उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री हुनुभयो