प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताउनुभयो । सत्ता साझेदार दल र आफूले पनि राष्ट्रपतिमा सबै दलहरुबीच समझदारी बनाउने पहल गरिरहेको जनाउँदै उहाँले राष्ट्रपतिको निर्वाचन आउने दिनसम्म राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस गरिरहेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी त्यो कोशिस जारी राख्नेछौँ ।” प्रतिनिधिसभाको सभामुखमा पनि सबै दलहरुबीच साझा समझदारी बनाउने प्रयास भए पनि अन्तिम समयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभामा आज भएको मतदानमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित हुनुभएको छ । “आज सभामुखको निर्वाचन भयो । सबै कुरा तपाईंहरुले थाहा पाइहाल्नुभयो । हामी सत्ता साझेदार सबै एकै ठाउँमा उभियौँ । अब प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिस्पर्धा भयो । बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ । पर्सी निर्वाचन हुन्छ । यही प्रक्रियाअनुसार नै निर्वाचन हुन्छ”, उहाँले भन्नुभयो । —