अफगानिस्तानको निमरोज प्रान्तमा भारी बर्षा र बालुवासहितको आँधीका कारण यहाँको सामान्य जनजीवन प्रभावित पारेको हजारौँ मानिसले कठिन परिस्थितिको सामना गर्नुपरेको टोलोन्यूजले जनाएको छ । आँधीबेहरीले पाल भत्काएको र चिसो मौसमका कारण आफूहरू मर्कामा परेको विस्थापित परिवारले बताएका छन् । टेन्टमा क्षति पुगेपछि कम्तीमा ७० घरबारविहीन परिवारलाई जारन्जको एक रङ्गशालामा सारिएको थियो । विस्थापित परिवारका सदस्य इयाउद्दीनले भन्नुभयो, “हामी सरकारसँग हाम्रो आश्रयस्थलको व्यवस्था गर्न आग्रह गर्दछौं । इन्डोरस्थित प्रान्तीय रङ्गशालामा लगिए पनि ती परिवारहरूले चिसो तापक्रमसँग जुधिरहेको बताएका हुन् । “हिजो राति असाध्यै जाडो थियो । आँधीबेहरी आयो । यसले हाम्रो पाल भत्कायो । हामीसँग न्यानो राख्ने केही पनि थिएन,” विस्थापित परिवारका सदस्य खल बीबीलाई उद्धृत गर्दै टोलो न्यूजले समाचारमा उल्लेख गरेको छ । पछिल्ला केही दिनयता देशका कम्तीमा २० वटा प्रान्तमा भारी हिमपात भएपछि यस्तो अवस्था आएको हो । यद्यपि, निमरोजका अधिकारीहरूले मानवीय सहायताका लागि काम गर्ने संस्था र लगानीकर्ताहरूलाई विस्थापितहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । निमरोजस्थित शरणार्थी तथा प्रत्यावर्तन विभागका प्रमुख सिदिकुल्लाह नुसरतले भन्नुभयो, “सबै सम्पन्न र दानी महानुभावहरूले प्रभावित परिवार तथा व्यक्तिलाई यथासम्भव सहयोग पु¥्याई मानवीय धर्म पूरा गर्न सरकार आग्रह गर्दछ ।”