ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने बिषयमा ब्राजिलको सर्वोच्च अदालत सहमत भएको छ । न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्व राष्ट्रपति बोल्सोनारोले दङ्गाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गर्नुभएको थियो । लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ । यद्यपि बोल्सोनारोले दङ्गापछि भिडियो पोस्ट गर्नुभएको थियो भने अर्को दिन यसलाई हटाउनु भएको थियो । बोल्सोनारोले अक्टोबर ३० मा पराजय भोगेपनि चुनावबारे निरन्तर टिप्पणी गरिरहनुभएको छ । उहाँले मतदानको दौडान इलेक्ट्रोनिक मतदान प्रणालीको विश्वसनीयताको बारेमा बारम्बार शङ्का उत्पन्न गर्दै त्यसपछि मेशिनको प्रयोग गरेर खसालिएका लाखौं मतपत्रहरू रद्द गर्न अनुरोध गर्दै आउनु भएको छ । उहाँले आफुमाथि लगाइएका आरोपलाई कहिल्यै स्वीकार गर्नुभएको छैन । पूर्व राष्ट्रपतिको कुनै पनि दाबी प्रमाणित भएको थिएन र निर्वाचनको परिणामलाई बोल्सोनारोका केही सहयोगी र प्राय विदेशी पर्यवेक्षक तथा सरकारहरूले कानुनी रूपमा मान्यता दिएका थिए । गत डिसेम्बरको अन्त्यमा ब्राजिल छोडेका उहाँले जनवरी १ मा आफ्नो बामपन्थी उत्तराधिकारीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थिएन । उहाँ ओर्लान्डोको उपनगरमा बस्दै आउनुभएको छ । ब्राजिलका केही प्रजातान्त्रिक सांसदले राष्ट्रपति जो बाइडेनलाई बोल्सोनारोको भिसा रद्द गर्न आग्रह गरेका छन् । न्यायाधिशको निर्णयपछि बोल्सोनारोका वकिल फ्रेडरिक वासेफले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “पूर्व राष्ट्रपतिले जनवरी ८ देखि भएको तोडफोड र विध्वंसात्मक कार्यलाई गैरकानुनी भन्दै आउनुभएको छ । विज्ञप्तिमा बोल्सोनारोको यी स्वतःस्फूर्त भएका सामाजिक आन्दोलनसँग कुनै सम्बन्ध वा सहभागिता नभएको पनि उल्लेख गरिएको छ । जनवरी २ मा संघीय जिल्लाको सुरक्षा प्रमुख बन्नुभएको बोल्सोनारोका पूर्व न्यायमन्त्री एन्डरसन टोरेस दङ्गाको दिन अमेरिकामा हुनुहुन्थ्यो । डे मोरेसले यसै हप्ता टोरेसलाई पक्राउ गर्न आदेश दिनुभएको छ । उहाँको कार्यको अनुसन्धान सुरु गरेका छन्, जसलाई उहाँले ‘उपेक्षा र मिलेमतो’ को रूपमा चित्रण गर्नुभएको छ । शुक्रबार सार्वजनिक गरिएको आदेशमा डे मोरेसले भन्नुभएको छ, टोरेसले अधीनस्थहरूलाई बर्खास्त गर्नु र दङ्गा अघि देश छोड्नु जानीजानी अशान्तिको लागि आधार तयार गरेको देखिन्छ । अदालतले पूर्व सुरक्षा प्रमुखका लागि पक्राउ पुर्जी पनि जारी गरेको छ र उहाँ तीन दिनभित्र स्वदेश फर्किनुपर्ने अन्यथा ब्राजिलले उहाँको सुपुर्दगीका लागि अनुरोध गर्ने न्यायमन्त्री फ्लाभियो डिनोले शुक्रबार बताउनुभएको छ । टोरेसले गलत कामको खण्डन गर्दै जनवरी १० मा ट्वीटरमार्फत् जारी सन्देशमा भन्नुभएको छ, “मैले ब्राजिल फर्कन र आफ्नो पक्षमा प्रतिरक्षा गर्न छुट्टीलाई घटाउने तयारी गरिरहेको छु ।” टोरेसको भनाइ आएको तीन दिन बितिसक्दा पनि उहाँ स्वदेश फर्किनुभएको छैन ।