काठमाडौं, १८ कार्तिक
सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेससहितको सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार कार्कीले आफू २०७४ सालमा निर्वाचित भएपछि सुनसरी क्षेत्र नम्बर ४ को चौतर्फी विकास निर्माण कार्यले गति लिएको बताए ।
मतदाताका हरेक आशा, भरोसा र अपेक्षाको समाधान गर्न आफू सधैँ प्रतिवद्ध रहेको उनले बताए । आफू प्रतिस्पर्धा गर्न नभई विकास गर्न सुनसरी क्षेत्र नम्बर ४ मा आएको हुँदा कोरोना महामारीका बाबजुद तीन वर्षमा आफ्नो पहल र प्रयासमा भएका विकास निर्माणकार्यका कारण आफ्नो जीत सुनिश्चित भएको मन्त्री कार्कीले बताए ।
जनता अब कसैको झुठो आश्वासनमा विश्वास नगर्ने र विकास तथा समृद्धि चाहेका कारण आफ्नो जितका लागि लोकतान्त्रिक वाम गठवन्धनले मात्र नभई सम्पूर्ण क्षेत्र लागिपरेको उनले बताए । आफ्नो जितले हरेक वर्ग, जातजाति, समुदायलाई समान हक र अधिकार सुनिश्चित गर्ने बताउँदै उनले यस क्षेत्रका बेरोजगार युवालाई रोजगारको सिर्जना गर्ने बताए ।
उनले यस क्षेत्रको हरेक अवस्था आफूलाई जानकारी रहेकोले योजनावद्ध रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि कांग्रेस नेतृत्वको सरकारले बनाउने उनको भनाइ छ । नेपाली कांग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले जनाएको उहाँले बताउनु भयो । हाल ६८ वर्ष भएपछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराइने मन्त्री कार्कीको भनाइ छ ।