केपी ओलीको कारण एमाले त्यागेँ : घनश्याम भुसाल

 

बुटवल, १६ कात्तिक

घनश्याम भुसालले केपी ओलीका कारण आफूले एमाले त्यागेकाे बताएका छन् । त्रिभुज चिह्न लिएर रुपन्देही–१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता भुसालले एमाले अध्यक्ष ओलीको कारण पार्टी छाडेको बताएका हुन् ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ । ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा  र विकासको लागि बनेको हो,’ उनले भने ।

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही–१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गरे ।

जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ (१) मा उम्मेदवारी दिएका कांग्रेस नेता विश्वनाथ यादवले आफूले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउँदै आफ्नो मुख्य प्राथमिकता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ (२) का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए । संविधान र लोकतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाइ थियो ।

वाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत देवदह, रोहिणी र तिलोत्तमा गरी सातवटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ । रुपन्देही क्षेत्र नं. १ मा झण्डै चार दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधिसभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनका छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *