काठमाडौं, १३ कात्तिक
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् ।
छठ पर्व, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’
छठ पर्वले समाजमा विद्यमान जातीय‚ लैङ्गिक लगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन पनि सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले कामना गरेकी छन् ।
खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै मनाउन थालिएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुस्ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।