फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात

 

काठमाडौं, १२ कात्तिक

फ्राइडे फिल्मअन्तर्गत प्रदर्शनमा आएको ‘महापुरूष’ले बक्सअफिसमा समेत आक्रमक सुरुवात गरेको छ । वर्ल्ड प्रिमियर र मोफसल प्रिमियरमार्फत वाहवाही बटुलेको फिल्मले सार्वजनिक प्रदर्शनमा समेत दर्शकमार्फत शतप्रतिशत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेर्न पहिलोदिन नै दर्शक भरिभराउ देखिए । निर्माण पक्षले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रियासमेत लिएका थिए ।

‘एकै परिवारको २८ जना फिल्म हेर्न आउनु भएको रहेछ । फिल्म सकिएपछि उहाँहरूको अनुहारमा देखिएको सन्तुष्टिले हामीलाई खुसी दिएको छ । फिल्म हेर्न आउनु राम्रो हो, उहाँहरू सन्तुष्ट र खुसी हुनु झनै राम्रो’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनीसँगै हल भिजिटमा निर्देशक प्रदीप भट्टराई र कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराईली सहभागी थिएँ ।

‘हामीले उठान गरेको विषयलाई दर्शकले रूचाउनु भयो । उहाँहरूसँगै पर्दा बाहिरसम्म फिल्म आएको छ । यो हाम्रो पहिलो सफलता हो’, लेखक समेत रहेका निर्देशक प्रदीप भट्टराईले भने । हल भिजिटमा दर्शक मार्फत पाएको प्रतिक्रियाले अभिनेता आचार्य उत्साहित छन् । उनले बलिदान पश्चात यस किसिमको अभिनय गरेको प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । ‘दर्शकले मलाई फरक रुपमा समेत रुचाउनु भयो । बलिदान पश्चात नयाँपुस्तामा यसै फिल्म मार्फत यसकिसिमको भूमिका निर्वाह गर्न पाएँ’, अभिनेता आचार्यले भने । एउटा परिवार भित्रको चित्र फिल्मले प्रस्तुत गर्ने उनको भनाइ छ ।

फिल्मले नेपाल मात्र नभई अष्ट्रेलियामा पनि राम्रो सुरुवात गरेको छ । सिड्नीको बरउडमा रहेको इभेन्ट सिनेमा हलमा फिल्म हेर्न आइपुगेका अधिकाँसको आँखा रसाए । नेपालबाट अष्ट्रेलिया घुम्न आइपुगेका आफ्ना बुबाआमालाई लिएर फिल्म हेर्न आएका सुरेश भण्डारीले प्रवासमा बस्नेहरूका लागि फिल्म झनै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । ‘नेपाल रहेका बाआमा र हामी सपना बोकेर विदेश आएकाहरूको कथा झैँ लाग्यो । थाहा नै नपाइ आँखाबाट आसुँ झरेछन्’, अष्ट्रेलियाका सन्नी आचार्यले भने ।

यसअगाडी जात्रा सिरिज र शत्रुगतेमार्फत जितेको विश्वासलाई गुम्न नदिएको सिड्नीमा रहेका पत्रकार राजन घिमिरेले बताए । ‘हल आउनुभएको दर्शकले पहिले भन्दा राम्रो फिल्म भन्नुभएको छ । हेर्नेको आँखा रसाएका छन् । यो फिल्म लामोसमयसम्म प्रदर्शन हुन्छ’, पत्रकार घिमिरेले भने । देश तथा विदेशबाट पाइरहेको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको निर्माता म्याक्स दिपेश खत्रीले बताए ।

‘हामीले पु¥याउन चाहेको सन्देश दर्शकसम्म पुगेको छ । उहाँहरूले मायाले हाम्रो मिहेनतको परिणाम दिएझैँ लागिरहेको छ’, निर्माता खत्रीले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ ।

आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य÷शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *