नयनतारा र विग्नेशलाई सरकारको ‘क्लिनचिट’

 

एजेन्सी

मुम्बई, ११ कात्तिक

साउथ अभिनेत्री नयनतारा र निर्देशक विग्नेश शिवन हालै सरोगेसीका माध्यमबाट अभिभावक बनेका थिए । विवाहको चार महिनापछि नै अभिभावक बनेपछि नयनताराको सरोगेसी मामला विवादमा तानिएको थियो । उनीहरुको विषयलाई लिएर तमिलनाडु सरकारले जाँचबुझ समिति नै गठन गरेको थियो ।

अहिले आएर सरकारले यो मामलामा उनीहरुलाई राहत दिएको छ । अनुसन्धानपछि प्राप्त रिपोर्टका आधारमा तमिलनाडु सरकारले नयनतारा र विग्नेशले सरोगेसीमा कुनै पनि नियम नतोडेको उल्लेख गरेको छ । सरकारबाट ‘क्लिनचिट’ पाएपछि विग्नेशले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

जाँचबुझको क्रममा नयनतारा र विग्नेशले सन् २०१६ मा नै अदालती विवाह गरेको खुलेको थियो । जाँचबुझ रिपोर्टमा सरोगेसी नियममा परिवर्तन हुनुअघि नै उनीहरुले सरोगेसीको प्रक्रिया सुरु गरिसकेको उल्लेख छ । यही कुरालाई आधार मान्दै सरकारले उनीहरुलाई निर्दोष साबित गरेको हो । यद्यपि जोडीको सरोगेसी गराउने अस्पताल भने यो मामलामा फँसेको छ ।

जाँचबुझ समितिले सरोगेसीका मामलामा नयनतारा र विग्नेश निर्दोष भए पनि उनीहरुलाई सरोगेसीको सुविधा दिने अस्पतालले नियम मिचेको आरोप लगाएको छ । हालसम्म जोडीको पारिवारिक डाक्टरसँग सम्पर्क हुन नसकेको जनाइएको छ । किनकी डाक्टर हाल भारतमा छैनन् । यो मामलामा सरकारले निजी अस्पताललाई एक सूचना पठाइसकेको छ ।

गत अक्टोबर ६ मा विग्नेशले सामाजिक सञ्जालमार्फत आफूहरु जुडुवा सन्तानको अभिभावक बनेको जानकारी गराएका थिए । नयनतारा र विग्नेशले ६ वर्षको डेट पछि सन् २०२२ जून १० मा विवाह गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *