बाआमाको तस्बिरदेखि शहीदको सालिकमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी

 

खोटाङ, २८ असोज

मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ ।
टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका छन् । चुनावी अभियानलाई विशेष र आकर्षक बनाउनका लागि उम्मेदवारहरूले फरक–फरक शैली अपनाएका छन् ।

शहीददेखि आफ्नो स्वर्गीय बाबुआमाको तस्बिरमा माल्यार्पण गर्दै उम्मेदवारहरूले आआफ्नो चुनावी अभियानको थालनी गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा उठेका विशाल भट्टराई र प्रदेशसभा (ख)बाट उठेका रामप्रसाद दंगालले शहीद मुक्सन किरातको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन् । शहीद मुक्सन किरातको स्मृति दिवस पारेर दुई उम्मेदवारले असोज २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा बनाइएको सालिकमा पुष्पगुच्छा चढाएका थिए ।

‘प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेपछि हामीले उनै शहीद मुक्सन किरातकी आमा सम्पूरा राईलाई साक्षी राखेर सालिकमा पुष्पगुच्छा अर्पण गरेर चुनावी अभियानको प्रारम्भ गरेका छौं,’ भट्टराईले फेसबुकमा लेखेका छन् । मुक्सनको द्वन्द्व कालमा २४ असोज २०५९ मा हत्या भएको थियो ।

यस्तै, गठबन्धन अन्तरगत कांग्रेसबाट प्रदेशसभा (ख)मा उठेका भूपेन्द्र राईले आफ्नो स्वर्गिय आमाबुबाको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी गरेका छन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित आफ्नो घरको भित्तामा झुण्ड्याइएको आमा गुम्माकुमारी राई र बुबा ध्यानबहादुर राईको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान थालेका हुन् ।

‘मलाई जन्म दिनुहुने बुबा-आमा भौतिक रूपमा हुनुहुन्न । हुनुभएको भए विजयको शुभकामना दिनुहुन्थ्यो,’ राईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आमा र बुवाको तस्बिरमा माल्यार्पण गरी आशिरवाद माग्दै चुनावी अभियान सुरु गरेको छु ।’ अन्य उम्मेदवारले पनि आआफ्नै शैलीमा चुनावी अभियान थालेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *