कांग्रेसका क्षेत्रीय सभापति राई पाँच वर्षका लागि पार्टीबाट निष्कासित

 

उदयपुर, २७ असोज

उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै तततत् जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिएका थिए ।

आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएका छन् ।

गठबन्धनविरुद्ध कांग्रेस उदयपुरका क्षेत्रीय सभापति रामकुमार राईले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । राईले गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकोले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका हुन ।
उनले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेस केन्द्रीय सर्कुलरबमोजिम निष्कासनमा परेका हुन् ।

तत्कालीन कांग्रेस जिल्ला कार्य समिति सचिवसमेत रहेका राई पार्टीले टिकट नदिएपछि ०७४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावअघि माओवादी प्रवेश गरेका थिए । तर, दुई वर्ष नबित्दै पुन: कांग्रेसमै फर्काएर उनलाई पूर्ववत् जिल्ला सचिवको जिम्मेबारीमा फर्काएपछि पार्टीमै क्रियाशील रहेका थिए । राईको प्रस्ताव र समर्थकमा पार्टीकै क्रियाशील सदस्यहरू लीलाराज अधिकारी र मिनकुमार दाहाल पनि कारबाहीमा परेका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने जयप्रसाद सुवेदी र उनका प्रस्तावक भरत कार्कीलाई पनि पाँच वर्षसम्मका लागि पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *