मर्चवारमा राजनीति : युवाले बद्लने छन् निर्वाचन नतिजा

 

भैरहवा, २२ असाेज  ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भएसँगै दलका नेताहरू टिकटका  लागि तछाड मछाडमा छन् । एकै चरणमा निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै जिल्लामा मात्रै होइन हरेक निर्वाचन क्षेत्रमा समेत चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन आयाेगले २३ असाेजमा मनोनयन दर्ता गर्ने समय दिएकाे छ । सामान्यतया मनाेनयन दर्तापछि चुनावी माहाेल बन्ने गरे पनि मर्चवार क्षेत्रमा भने यसअघि नै चुनावी माहाेल बनिसकेकाे छ ।

रुपन्देहीको क्षेत्र नम्बर ४ मा पर्ने यो क्षेत्र मधेशी समुदायको बाहुल्यता छ । सम्मरीमाई, मर्चवारी  कोटहीमाई गाउँपालिका र मायादेवी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडा पर्ने यो क्षेत्रमा प्रदेश सभाको दुई निर्वाचन क्षेत्र छ ।

पाँच वर्षपछि हुन लागेकाे याे निर्वाचनमा सबै दलले आ–आफ्नो दल बलियो रहेकाे दाबी गर्दै आएका छन् । कतिपयले त पार्टि परिवर्त गरेर समेत उम्मेदवारी दिने तयारी गरेका छन् । रुपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेशसभाका १० सिट छ ।

सडक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा कमजोर मानिएको यो क्षेत्र अझै पनि विकासकाे पुच्छारमा छ । विकासै नभएको भने होइन तर रुपन्देहीको अन्य क्षेत्रमा जुन किसिमको विकास भएको छ त्यसकाे तुलनामा मर्चवार निकै तल छ । मुख्यतया कृषिमा आधारित यस क्षेत्रको समस्या पनि कृषि केन्द्रित नै हुन्छन् । निर्वाचनको समयमा मुख्य मुद्दा नै यही पूर्वाधारको बनाएर मतदाता फकाउँदै आएका नेताले आगामी निर्वाचनमा पनि पुनः यसैलाई नै घोसणा पत्रमा उल्लेख गर्ने छन् ।

पार्टीले उम्मेदवार घोषणा नगर्दै जनताका समस्यालाई एजेन्डा बनाएर मर्चवारमा केही उम्मेदवार घरदैलोमा पुगिसकेका छन् । निर्वाचित सत्तारुढ दलका प्रतिनिधि पनि अन्तिम समयमा आएर पाँच वर्षमा के गरे भन्दै जनतामा प्रचार गर्दै हिडेका छन् । प्रमुख दलले उम्मेदवार टुंगो नलगाए पनि मधेशवादी दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी अभियानमा छन् । पाँच वर्ष कुरेर बसेका नेतालाई पार्टीले टिकट नदिने पक्का भएपछि पार्टी छोडेर टिकट कता पाइन्छ उतै जान पनि थालेका छन् ।

चर्चामा एमाले र माओवादी केन्द्र कम देखिए पनि कांग्रेससहित मधेशवादी पार्टीहरू जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउतको जनमत पार्टी, राप्रपालगायतबाट आकांक्षीहरू प्रस्तावित भएको मध्ये केहीको टुङ्गो लागेको छ । केही  स्वतन्त्र उम्मेदवार पनि भेटघाटमा छन् । अन्य क्षेत्र जस्तो मर्चवार अझैसम्म कुनै पार्टीको किल्ला बन्न भने सकेको छैन ।

कहिले कुन पार्टी कहिले कुन पार्टीको जितले यहाँ कसले बाजी मार्ला भन्ने आकालन गर्न पनि गाह्राे छ ।  चुनावपिच्छे मतदाता फेरिने क्षेत्र समेत रहेको मर्चवारमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता विजयी भएका थिए । मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट उनी विजयी भएका थिए । २०५१ सालमा राप्रपाबाट चुनाव लडेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालको चुनावमा सद्भावनाले दोस्रो पटक चुनाव जित्दा यज्ञजित शाह सांसद बनेका थिए । त्यस्तै २०६४ सालको संविधान सभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने ।

२०७० सालको संविधान सभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लाले बाजी मारेका थिए । २०७४ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले पहिलो पटक मर्चवारमा विजयी हासिल गरयो । हाल रुपन्देही क्षेत्र नम्बर ४ मा पर्ने मर्चवारमा कांग्रेसका प्रमोद यादव प्रतिनिधिसभा सदस्य छन् भने प्रदेशसभा क मा कांग्रेसबाटै अष्ट भुजा पाठक र ख मा बसिउद्दीन खान विजयी बनेका थिए । यसरी हेर्दा शुक्लाबाहेक अन्य नेता प्राय: दोहोरिएका छैनन् । २०५१ सालमा राप्रपाबाट सांसद भएका सर्वेन्द्रनाथ शुक्ला २०७० सालमा भने तमलोपाबाट विजयी भए ।

मत खेर जान नदिने साेचमा मतदाता

शिक्षामा पछाडि परेका र पारिएका मतदाताहरू अब मत खेर जान नदिने चेतावनी दिँदै आएका छन् । अब विकासप्रेमी नेता रोज्ने स्थानीय शिलसागर यादवले बताए । उने भने, ‘पहिला जस्तौ छैन अहिले विवेक प्रयोग गरी मतदान गर्छौ । विकास गर्ने र जनताका दुःख सुखमा साथ दिने उम्मेदवारलाई जिताउने छौँ ।’

मधेसमा उपेन्द्र यादवले नेतृत्व गरिरहेको मधेसी जनाधिकार फोरम ‘क्रान्तिकारी’ पार्टीको रुपमा थियो । त्यसपछि संघीय समाजवादी फोरम हुँदै अहिले उपेन्द्रले जनता समाजवादी पार्टीको नेतृत्व हाँकेका छन् । तराईमधेश लोकतान्त्रिक पार्टीको प्रभाव एकताका राम्रै थियो । तराई मधेश लोकतान्त्रिक पार्टीले विभिन्न पार्टीलाई जोडेर राष्ट्रिय जनता पार्टी बनायो । राष्ट्रिय जनता पार्टी र उपेन्द्रको संघीय समाजवादी फोरम मिलेर जनता समाजवादी पार्टी बन्यो । अहिले जसपाबाट अलग भएर कुनै बेला मधेश केन्द्रीत पार्टी तराई मधेश लोकतान्त्रिक फोरम हाँकेका महन्थ ठाकुरले लोकतान्त्रिक फोरम हाँकेका छन् । मधेस केन्द्रित पार्टीमा भइरहेको बिग्रह र टुटफुटको फाइदा लिने रणनीति डा. सिके राउत नेतृत्वको जनमतले बनाएकाे छ ।

सम्मरीमाई गाउँपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।  हारसँगै अहिले उनी अहिले फेरि जनमतबाट प्रदेशसभा उम्मेदवारी दिने तयारीमा छन् । केही समय एमालेमा रहेका शुक्ला हारपछि दल चाहार्दै जनमतबाट प्रदेशको दाउमा छन् । २०६० सालमा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य भएका ओमप्रकाश यादव गुल्जारी बीचमा एमालेमा थिए । अहिले जसपामा गएका छन् ।

मर्चवारमा कम्युनिष्टकाे कम प्रभाव

मर्चवारमा कम्युनिष्टहरूको प्रभाव खासै देखिँदैन । ०५४ सालमा देशव्यापी रुपमा एमालेले जित्दा पनि मर्चवारमा भने पस्न सकेको थिएन । अहिले पनि एमाले र माओवादीलाई उम्मेदवारसमेत खोज्नुपर्ने अवस्था छ । भएका नेता पनि अरु पार्टीमा लागेपछि क्षेत्र नम्बर ४ बाट को लड्ने भन्ने निश्चित छैन । हुन त अहिलेको निर्वाचनमा पनि गठबन्धन कसरी जान्छ भन्ने छ । पर्ख र हेर को अवस्था रहेको मर्चवार क्षेत्रमा पनि प्रतिस्पर्धा क कस्को हुन्छ भन्ने निश्चित छैन ।

११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । २०७४ सालको निर्वाचनमा १, २ र ३ नम्बर क्षेत्रमा नेकपा एमाले तथा ४ र ५ नम्वर क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै प्रदेश सभातर्फ एमालेले ५, कांग्रेस ३, नेकपा माओवादी १ र जनता समाजवादी पार्टी (जसपा) ले एक क्षेत्रमा जितेको थियो ।

यो क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ८९ हजार ८३५ मतदाता रहेका थिए अहिले बढेर १ लाख १० हजार ६५९ पुगेको छ ।

प्रदेशसभातर्फ (क) मा ५३ हजार ३८९ र (ख) मा ५७ हजार २७० मतदाता छन् । ५ वर्षको अन्तरालमा २० हजार ८२४ मतदाता थप भएका छन् । थपिएका मतदाता मध्ये अधिकांस युवा नै हो  विगतका निर्वाचनमा पनि युवाले नै निर्णायक भूमिका खेल्ने गरेका थिए । अहिलेको निर्वाचनमा उम्मेदवार पनि बढि भएकोले युवाहरुको आकर्षणले नै मर्चवारको नतिजामा फेरबदल गर्छ । थपिएका २० हजार मतदाताले मताधिकारको प्रयोग पनि सोच विचार गर्ने गरी तयारीमा छन । पहिला भन्दा अहिले शिक्षित पनि बढि छन, स्थानीय तहको निर्वाचनमा पनि सहभागी भएकोले अब बुझेर मात्रै मत दिने वातावरण बनेको स्थानीय युवा सिताराम कुर्मीले भने ।

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा छन् । मुख्यतया क्षेत्र नम्बर ४ मा अहिले कांग्रेसबाट निर्वाचित प्रमोद यादव यसपटक पनि उम्मेदवारका लागि सिफारिसमा परेका छन् । एमालेबाट कृष्ण भुसाल सिफारिस भएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला पनि उम्मेदवार बन्ने निश्चित छ ।  गत निर्वाचनमा यादवले राजपाबाट प्रतिस्पर्धी भएका शुक्लालाई पराजित गरेका थिए । जसपाबाट कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष चन्द्रभुषण यादव, माओवादीबाट सन्तकुमार यादव  र मधेसमा प्रभाव विस्तार गरिरहेको जनमत पार्टीले पनि भोपेन्द्र यादवलाई प्रतिनिधी सभाको निर्वाचनका लागि अघि सारेको छ । एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश यादव अहिले जसपामा प्रवेश गरेका छन् जसपाबाट उनी उम्मेदवार बन्ने आकाक्षा राखेका छन । २०७४ सालमा एमालेबाट उम्मेदवार रहेका यादव तेस्रो भएका थिए ।

यस्तै, प्रदेशसभा तर्फ क बाट कांग्रेसका अष्टभुजा पाठक, एमालेबाट हजरत अलि, सुनिलकुमार गिरी, माओवादीबाट ढुनमुन यादव, लोसपाबाट कन्हैया बनियाँ, जसपाबाट सुनिल जैसवाल र सच्चेतानन्द यादव, जनमतबाट जितेन्द्रनाथ शुक्ल(बब्लु)को चर्चा छ । त्यस्तै, प्रदेश सभा ख तर्फ कांग्रेसबाट बसिउद्दिन खान, एमालेबाट विनय मिश्रा, हरिशचन्द्र सिंह, सुनिता ठठेर र रामबचन यादव, माओवादीबाट लालमन यादव, जनमतबाट अर्जुन जैसवाल, लोसपाबाट रामु यादव, मोहनलाल यादव, रामगणेश पाल, जसपाका रामअवतार यादव ,खलिउल्लाह जोलहा र संजय मिश्र पार्टी परित्याग गरी स्वतन्त्रबाट आकाक्षी रहेको चर्चा छ । राप्रपाले भने अहिले क्षेत्र नम्बर ४ मा खुलेर कुनै टुंगो लगाएको छैन ।

मर्चवार क्षेत्रबाट पत्रकारिता गर्देै आएका रामविकास चौधरीले अहिलेको चुनाव पनि युवाहरूको मतमा आधारित रहेकाे बताउँछन् । उनीहरूलाई जसले लैजान सक्याे उसैकाे  जित निश्चत रहेकाे उनकाे भनाइ छ ।

दिपक बोहरा उम्मेदवार हुँदा पहिला नेताहरू गाउँका खास खास मुखिया, जमिनदारहरूलाई भेटेर भोट माग्ने, मतदाताले पनि मालिकले जहाँ भन्छन् त्यही भोट हाल्ने गरेका थिए । बिस्तारै यो प्रवृति परिवर्तन हुदैछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *