खोटाङ, ८ असोज
चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।
गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ । कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् । ‘चाडवाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ । पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘दुःखबिमार भएको बेला सहज रुपमा एम्बुलेन्सको आजत–जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’
गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ ।