विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ 

 

काठमाडौं, २ असोज

मकवानपुर, बाँके र कपिलवस्तुबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ भलाद्मी चोकबाट करिब १५ किलो गाँजासहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका–४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय कमल साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेमा २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने ३८ वर्षीया यसोदा कार्की, उनकै श्रीमान ४१ वर्षीय रुद्ध बहादुर कार्की र सोही नगरपालिका–१२ बस्ने २० वर्षीय मनोज गिरी छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ लक्ष्मीनगर बस्ने ३१ वर्षीय जमालदिन मियाँ र दाङ घोराही उपमहानगरपालिका–९ पर्सेनी घर भएकी १८ वर्षीया किशोरीलाई २ किलो ७ सय ग्राम चरेससहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जमालदिनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *