भुजुङमा गाउँको नीति नियम बनाउन भदौ सभा

लमजुङ २५ भदौ

लमजुङको पर्यटकीय गाउँ भुजुङमा भदौ सभा सम्पन्न भएको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ । भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन्।

भदौसभामा जनप्रतिनिधिलाई पनि सहभागी गराइएको छ । यो सभा समापन गर्न पहिले १ सातासम्म लाग्थ्यो । अहिले ३ दिनसम्म भदौमा सभा सञ्चालन हुने गरेको छ । लालीगुराँस युवा क्लबका अध्यक्ष नौराज गुरुङका अनुसार भदौ सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिएको छ ।

समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ । सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मूल्य निर्धारण गर्ने गर्छ ।

भदौ सभा १ देखि ४ दिनसम्म सञ्चालन हुँदै आएको छ । गाउँका १ देखि ९ वटा टोलका घरमूली सभामा आउँछन्। गतवर्ष पारित गरेको नियम पालना गरे नगरेको कसम खाने गरिन्छ । नियम विपरीत गरेकालाई जरिवाना हुन्छ ।

रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरूपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताए ।

भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र हरेक वर्ष परिमार्जन गर्दै लाने गरेका छन्। उनका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *