जाजरकोट, ९ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । भूकम्पपीडितको अवस्था बुझ्न आज भेरी नगरपालिका–१ रावतगाउँ पुग्नुभएका मन्त्री आचार्यले वर्षा सुरु हुनुभन्दा पहिले नै पालमुनि रहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने सरकारको योजना रहेको बताउनुभयो ।
भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणजस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साझेदार स्थानीय सङ्घसंस्थालगायत विभिन्न दातृ निकाय तथा दातालाई मन्त्री आचार्यले धन्यवाद दिनुभयो । मन्त्री आचार्यसँगै भूकम्पपीडितको अवस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनःनिर्माणलाई सँगसँगै बढाउनुपर्ने बताउनुभयो ।