प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बासले शुक्रबार आफ्नो वेस्ट बैंक मुख्यालयमा एकजना शीर्ष अमेरिकी अधिकारीसँगको वार्तामा गाजा प्यालेस्टिनी राज्यको “अभिन्न अङ्ग” भएको बताउनु भएको छ । इजरायलले गाजामा आक्रमण तीव्र पारेपछि संयमका लागि अन्तरराष्ट्रिय आह्वान जारी रहेका बेला यो भेटघाटको विशेष अर्थ राखिएको छ । राष्ट्रपति अब्बासले भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भन्नु भएको छ- “गाजा प्यालेस्टाइन राज्यको अभिन्न अङ्ग हो ।” राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सो भेटमा राष्ट्रपतिले कुनै पनि भागलाई अलग गर्ने प्रयास अस्वीकार्य हुने बताउनु भएको छ । अब्बासले भन्नु भयो- “जारी इजरायली आक्रमणलाई रोक्नका लागि तत्काल आवश्यकत कदम चाल्नु पर्ने र विशेष गरी गाजामा प्यालेस्टाइनी जनतामाथि आजका दिनमा भइरहेको नरसंहारको अन्त्य हुनुपर्छ ।”
इजरायली युद्धले निम्त्याएको पीडा र विनाशबाट नागरिकहरूलाई जोगाउन आवश्यक रहेको उहाँको टिप्पणी छ । सुलिभानको यस क्षेत्रको भ्रमणमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री योभ ग्यालान्टसँगको भेटघाटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । इजरायललाई अर्बौं डलरको सैन्य सहायता प्रदान गर्ने संयुक्त राज्य अमेरिकाले हमासको आक्रमणप्रति आफ्नो प्रतिक्रियालाई कडा रूपमा समर्थन गरेको छ तर गाजाका लागि नागरिकको मृत्यु र दीर्घकालीन योजनामा भने चिन्ता व्यक्त गरेको छ।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि युद्ध शुरु भएको इजरायली आक्रमणबाट करिब १ हजार २०० मानिस मारिएका छन् जसमा अधिकांश सर्वसाधारण नागरिक परेका छन् । हमासद्वारा सञ्चालित गाजा स्ट्रिपको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार युद्धले १८ हजार ७०० भन्दा बढी मानिसको ज्यान लिइसकेको जनाएको छ जसमा अधिकांश महिला र बालबालिका छन्। यसै बीच संयुक्त राष्ट्रसंघ महासभाले गाजामा युद्धविरामका लागि आह्वान गरेको गैर-बाध्यकारी प्रस्तावलाई भारी मतले समर्थन गरेको छ तर वाशिङ्गटनले भने यसको विपक्षमा मतदान गरेको छ ।