उत्तर कोरियाली नेता किम जोङ उन रसियाको भ्रमण गर्ने निश्चित भएको छ । मस्को र प्योङयाङले नेता किमको औपचारिक भ्रमण सोमबार पुष्टि गरेका हुन् । यसअघि दक्षिण कोरियाको योनहाप समाचार समितिले अज्ञात स्रोतलाई उद्धृत गर्दै नेता किम चढेको रेल रुसतर्फ प्रस्थान गरेको खबर सम्प्रेषण गरेको थियो । “राष्ट्रपति पुटिनको निमन्त्रणामा छिट्टै आदरणीय कमरेड किम जोङ उनले रूसी महासङ्घको भ्रमण गर्नहुने तथा त्यस क्रममा कमरेड पुटिनसँग भेटघाट र वार्ता गर्ने कार्यक्रम छ,” उत्तर कोरियाको आधिकारिक समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले नेता किमको भ्रमण पक्का भएको जनाउँदै खबर लेखेको छ । यसैबीच, रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पनि उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको भ्रमण गर्ने जनाएको छ । “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा प्रजातान्त्रिक जन गणतन्त्र कोरियाका राज्य मामिला अध्यक्ष किम जोङ अनले आगामी दिनमा रूसी महासङ्घको औपचारिक भ्रमण गर्नुहुनेछ,” भ्रमणको मिति नतोकि क्रेमलिनले निकालेको विज्ञप्तिमा भनिएको छ । उत्तर कोरियाली नेता विरलै विदेश भ्रमण गर्नुहुन्छ । कोरोना महामारीपछि उहाँले विदेश यात्रा गर्नुभएको छैत । उहाँ आफ्ना रूसी समकक्षीसँग हतियार सम्झौताका निम्ति भ्रमणमा जान लाग्नुभएको अनुमान गरिएको छ ।