हिरासतमा मृत्यु भएकी इरानी कुर्दिश युवती महसा अमिनीका काकालाई इरानी प्रहरीले मङगलबार पक्राउ गरेको छ । तीस बर्षीय सफा एलीलाई पश्चिमी इरानको साकेज परिवारको गृहनगरबाट सुरक्षा फौजले पक्राउ गरी अज्ञात स्थानमा लगेको कुर्दिश निकट हेन्गाव अधिकार समूह, फ्रान्सस्थित कुर्दिस्तान ह्युमन राइट्स नेटवर्क र १५०० तस्वीर समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । हेन्गावका अनुसार इरानी अधिकारीहरूले कुनै कानुनी कागजात पेश नगरी एलीको निवासमा जबर्जस्ती प्रवेश गर्न सुरक्षा बलका सदस्यहरूले भरिएका पाँचवटा गाडीहरूको एक काफिला तैनाथ गरेका थिए । इरानबाहिरका सञ्चार माध्यमका अनुसार अमिनीको मृत्यु भएको झण्डै एक वर्षपछि साकेज शहरलाई विशेष निगरानीमा राखिएको र होटलहरूलाई बाहिरी व्यक्तिहरूलाई प्रवेश नदिन भनिएको र अमिनीको चिहान वरपर नयाँ सुरक्षा क्यामेराहरू स्थापना गरिएको बताएका छन् । इरानी सरकारले घोषणा गरेको पहिरनसम्बन्धी कडा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी २२ वर्षीया अमिनीको सेप्टेम्बर १६ मा मृत्यु भएको थियो ।