इरान समर्थित हुथी विद्रोहीले आइतबार ‘अकस्मात’ गरेको आक्रमणमा यमनी १० सैनिकको मृत्यु भएको छ । यमनमा सरकार र विद्रोही हुथी समूहबचि भएको युद्धविरामपछि एक वर्षभन्दा बढी समयको सापेक्षिक शान्तिपछि आइतबार ‘आश्चर्यजनकरूपमा आक्रमण’ गरेको सैनिक स्रोतले जनाएको छ । दक्षिणी प्रान्त लाहज र अल–बेदाबीचको सीमा क्षेत्रमा हुथी विद्रोहीले गरेको ‘अनपेक्षित आक्रमणमा’ अन्य १२ जना घाइते भएको स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको छ । करिब २० लाख जनसङ्ख्या रहेको दक्षिणपश्चिमी सहरजाने मुख्य मार्ग बन्द गर्ने उद्देश्यले उक्त आक्रमण गरिएको सरकारी अधिकारीले बताएका छन् । इरान समर्थित हुथी विद्रोहीले सन् २०१५ देखि ताएज प्रवेश गर्ने मुख्य सडकहरू अवरुद्ध गर्दै आएका छन् । यमनका युद्धरत पक्षहरूले अप्रिलदेखि युद्धविरामको पालना गर्दै आएका छन्, जसले शत्रुतामा भारी कमी ल्याएको छ, यद्यपि सानो स्तरको लडाइँ जारी छ । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ताएज आक्रमण युद्ध अन्त्य गर्न र शान्ति हासिल गर्नका लागि गरिएका सबै पहल र प्रयासका लागि स्पष्ट चुनौती हो ।” यो “मानवीय युद्धविरामलाई विस्तार गर्ने प्रयासलाई कमजोर पार्ने प्रयास थियो,” विज्ञप्तिमा भनिएको छ ।