कृष्णनगर (कपिलवस्तु) ८ भदौ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल फेला परेकोे छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिनुभयो । उहाँले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताउनुभयो । वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । कुलाले बगाउँदा एक महिलाको मृत्यु कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका–८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो । शव परीक्षण गरी परिवारको जिम्मा लगाइएकोे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।