सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएको त्यहाँका बासिन्दाले एएफपीलाई बताएका छन् । अशान्त पश्चिमी क्षेत्रमा नियमित सेनाविरुद्ध लडाइँ चर्किरहेको छ । डार्फर र सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच करिब चार महिनादेखि जारी द्वन्द्वको मार खेप्नुपरेको छ । सुडानको दोस्रो ठूलो शहर तथा दक्षिण डार्फर राज्यको राजधानी न्यालाबाट सयौं मानिस विस्थापित भएको एक स्थानीयले एएफपीलाई बताए । आइतबार आरएसएफ अर्धसैनिक बलले न्यालामाथि दर्जनौं सैन्य गाडीले आक्रमण गरेको र सयौं बासिन्दाहरू भीषण तोपखानाबाट भागिरहेको उनले बताए । गत अप्रिल १५ मा खार्तूममा सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्व डेपुटी कमाण्डर मोहम्मद हमदान डग्लोबीच युद्ध सुरु भएको थियो । सशस्त्र द्वन्द्व स्थान र घटना डाटा परियोजनाको एक अनुमानअनुसार देशभर कम्तीमा तीन हजार ९०० व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका अनुसार ४० लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।