प्रजातान्त्रिक विचार समाजको नवनिर्वाचित समितिले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा शिक्षालगायत समसामयिक विषयमा अन्तरक्रिया गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, पूर्वअध्यक्ष डा केदारनरसिंह केसीसहित पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले पार्टी नेताहरूसँगको भेटघाट तथा छलफलको शृङ्खलालाई निरन्तरता दिने क्रममा आज इटालीटार÷बूढानीलकण्ठस्थित केसी निवासमा अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । सो अवसरमा कांग्रेस नेता केसीले मुलुकमा व्याप्त भ्रष्टाचार, आपराधिक एवं अराजक गतिविधि र छाडातन्त्र अन्त्य तथा विधिको शासनसहित समुन्नत लोकतन्त्रका पक्षमा अझ सशक्तरुपमा अघि बढ्न समाजको ध्यानाकर्षण गराउनुभयोे । उहाँले भिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवेश भएका भारत र चीनजस्ता विश्वमानचित्रमा उदयमान दुई ठूला देशबीच अवस्थित नेपालमा राजनीतिक, आर्थिक, धार्मिकलगायत जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दा उछालेर जातीय द्वन्द्व सिर्जना गरी मुलुकलाई विखण्डनको बाटोतर्फ लैजाने सम्भावना रहेकाले त्यसतर्फ सचेत रहन सबैसँग अनुरोध गर्नुभयो ।
बौद्धिक समुदायको प्रतिनिधित्व गर्ने प्रजातान्त्रिक विचार समाजले आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक राजनीतिक तथा सामाजिक क्षेत्रका मुद्दाहरूमा यसरी छलफल, बहस चलाउनु स्वागतयोग्य कदम भएको प्रसङ्ग उल्लेख गर्दै नेता केसीले भन्नुभयो, “मनोमालिन्य अन्त्य, विधिको शासनसहित समुन्नत राष्ट्र निर्माणका पक्षमा आजीवन वकालत गर्ने एक राजनीतिकर्मीको हैसियतले समाजको अभियानमा ऐक्यबद्धता प्रकट गर्दछु, मुलुकको यस विषम परिस्थितिमा ‘थिङ्क ट्याङ्क’का रुपमा जिम्मेवार भूमिका निर्वाह गरी देशलाई उज्याले दिशातर्फ डो¥याउने समाजको अभियानमा सदैव साथ सहयोग रहने छ ।” समाजका अध्यक्ष वाग्लेले मुलुकमा राजनीतिक मूल्य र मान्यतामा ह्रास आएको, भ्रष्टाचार र आपराधिक गतिविधि मौलाएको, पदीय हैसियतसहित आर्थिक पक्षले प्राथमिकता पाएको, सुशासन पक्ष ओझेलमा परेको र हरेक पेसाकर्मी, व्यवसायीसहित आमनेपालीमा नैराश्यता छाएको विद्यमान अवस्थामा समाजको स्पष्ट धारणासहित नवनिर्वाचित कार्यसमितिले घरदैलो अभियान÷अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । पूर्वअध्यक्ष डा केसीले स्थापनाकालदेखि लोकतन्त्र, कानुनी राज्य, विधिको शासनसहित समुन्नत नेपालका पक्षमा समाजले वकालत गर्दै आएको चर्चा गर्नुभयो ।