वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विपद् जोखिमको पूर्वतयारीका लागि गोदामघर सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले विपद् व्यवस्थापनको रकम कार्यविधि बनाएर विपद् व्यवस्थापनको रकम स्थानीय तहलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । उहाँले जोखिमको पहिचान भएका स्थानीय तहमा पूर्वतयारी गरिहाल्नुपर्नेसमेत बताउनुभयो । उहाँले प्रदेश सरकार मातहत मकवानपुर, नुवाकोट र काभ्रेमा रहेको गोदाम घर (विपद्को राहत तथा उद्धार सामग्री) चालु अवस्थामा राख्न निर्देशन दिनुभएको छ । बैठकमा मनसुनजन्य विपद्पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, प्रदेश विपद् कोषबाट लागत साझेदारीबापत उपलब्ध गराइएको रकम, प्रदेश विपद् व्यवस्थापन कोषको रकम खर्च गर्ने सम्बन्धमा छलफल भएको थियो । प्रदेश विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमबाट जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा आवश्यकता र औचित्यताका आधारमा विपद् व्यवस्थापन कोष परिचालन गर्ने, विपद् पहिचान भएका स्थानीय तहरुमा पूर्वतयारी, खोज उद्धार र राहत, आवास पुनर्निर्माण र पुनस्थापनाका लागि प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् वाग्मती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा बाढी तथा पहिराबाट लगभग २२ हजार घरधुरी र ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान प्रदेश सरकारले गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलअनुसार विगत १० वर्ष (२०६९ देखि २०७९) सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा प्रदेशमा घटने मनसुनजन्य विपद्हरु क्रमशः बाढी, पहिरो, भारी वर्षा र महामारी रहेका छन् । विगत १० वर्षको तथ्याङ्कअनुसार दुई सय ४३ वटा बाढीका घटनाहरुमा ९६ मानिसको मृत्यु, ३९ घाइते र ५८ जना बेपत्ता भएको देखिन्छ भने सबैभन्दा बढी मानिसको मृत्यु २०७० सालमा भएको देखिन्छ । २०७९ सालको मनसुन तथ्याङ्कअनुसार वाग्मती प्रदेशमा १३ बाढीका घटनाहरु भएमा दुई जनाको मृत्यु भएको छ भने नौ घर पूर्ण क्षति हुँदा ९२ लाख ७३ हजार क्षति भएको थियो । २०७९ सालमा भएको बाढीको घटनाको तथ्याङ्कअनुसार यस्को प्रभाव असारदेखि कात्तिकसम्म हुने गरेको छ । जसमध्ये साउन महिनामा सबैभन्दा धेरै प्रभावित हुने गरेको तथ्याङ्क छ । वाग्मती प्रदेशमा गत वर्ष बाढीका घटना र क्षति भक्तपुर जिल्लामा सबैभन्दा बढी भएको र यसबाट ५७ लाख बराबरको क्षति भएको थियो । १३ जिल्लामध्ये प्रदेशमा बाढीका कारण मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, काठमाडौँ, रसुवा, काभ्रेपलान्चोक र रामेछाप प्रभावित हुने गरेको तथ्याङ्क छ ।
