सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राख्नुभयो । “नेपाली सेना राज्यशक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन”, उहाँले भन्नुभयो । सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गर्नुभयो । “देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हँुदैन”, उहाँले भन्नुभयो । ‘सेनाको सङ्ख्या घटाएर त्यसबाट बचेको रकमबाट देश विकास गर्नुपर्छ’ भन्ने दिएको अभिव्यक्तिको कटाक्ष गर्दै सांसद गौतमले सेनालाई कमजोर तुल्याउने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिनुभयो । सांसद गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।” सांसद गङ्गाकुमारी बेल्बासेले करिब एक सय केजी सुन तस्करबाट बरामद गरेको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । लामो समयदेखि समस्या बनिरहेको मिटरब्याज पीडितको समस्या समाधानको दिशातर्फ काम अघि बढेको भन्दै उहाँले यसलाई टुङ्गोमा पु¥याउन माग समेत गर्नुभयो । म्यानमारमा नेपाली कामदारलाई थुनिएको विषय, कम्बोडिया, लाओसलगायत मुलुकमा कामदारलाई दिइरहेको यातना र ठगीबारे सम्बन्धित मुलुकमा कूटनीतिक पहलमार्फत समाधान खोज्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दिलकुमारी रावल थापा (पार्वती) ले चितवनका केरा उत्पादक किसान बजार नपाएर चिन्तित रहेको, केराखेतीमा लागू भएको बीमा कार्यक्रम रोकिएको भन्दै किसानका समस्या समाधानमा पहल गरिदिन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानलाई समयमै मलको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सहकारीको व्यवस्थापन, सुन तस्करीको दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।