सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो । यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ । खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा-भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताउनुभयो । “खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुसी पनि छन्”, महतोले भन्नुभयो, “विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।” विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ । विद्यालय अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।” नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताउनुभयो । बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्वपूर्ण मानिन्छ । लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो । प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको रु १५ दिने गरेको छ ।