हराउँदै पठन संस्कृति : पुस्तकालय छन्, पाठक छैनन्

 

कुनैबेला पाठकले भरिभराउ हुने पुस्तकालय अहिले सुनसान छन् । प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोप हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालयमा दुई वर्ष पहिलेसम्म पाठक आएर भरिभराउ हुने गरेकामा अहिले सुनसान छ । पुस्तकालयका सञ्चालक नारायण लम्साल दुई वर्षअघिसम्म पाठक प्रायजस्तो आउने गरेको भए पनि अहिले आउन छाडेको बताउनुहुन्छ । “केही वर्ष पहिलासम्म फाट्टफुट्टरुपमा पाठक आउथे अहिले कोही आउँदैनन् । पुस्तकालयमा प्रशस्तै पुस्तक छन् तर अध्ययन गर्नेको सङ्ख्या छैन”, उहाँले भन्नुभयो । अहिले सामाजिक सञ्जालका कारण खोजेको कुरा गुगलमा तुरुन्तै भेटिने भएपछि उनीहरुलाई पुस्तकालयसम्म धाउनै नपर्ने लम्सालले बताउनुभयो । पछिल्लो समय पढ्ने बानीको विकास नहुँदा पुस्तकालय सुनसान बनेको उहाँको भनाइ थियो । लम्सालले विद्यालयबाटै शिक्षककले विद्यार्थीलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । मानिस अहिले फुर्सदमा भए पनि टिकटक, फेसबुक चलाएर बस्ने गरेकाले पढ्ने बानी हराउँदै गएको उल्लेख गर्नुभयो । लम्सालका अनुसार पुस्तकालयमा १२ हजारको हाराहारीमा पुस्तक छन् । बेदकोट सामुदायिक पुस्तकालयमा पनि पाठक नआउँदा बन्द हुने स्थितिमा छ । विसं २०७४ सालमा स्थापना गरिएको उक्त सामुदायिक पुस्तकालयमा अहिले अध्ययन गर्ने व्यक्ति नभएर बन्द हुने अवस्थामा पुगेको पुस्तकालयका अध्यक्ष हिक्मतबहादुर सिंहले बताउनुभयो । “अहिले मानिसमा पढ्ने बानी हराउँदै गएको छ । त्यसैले पनि यहाँ पढ्न आउनेको सङ्ख्यामा कमी हुँदै गएको छ”, उहाँले भन्नुभयो । पुस्तकालयलाई नयाँ प्रविधियुक्त बनाउनसके पाठकको सङ्ख्या बढ्ने उहाँको भनाइ थियो । पुस्तकालयमा अनुसन्धान गर्नेबाहेक अन्य कोही नआउने अध्यक्ष सिंहले बताउनुभयो । पुस्तकालयमा बुढापाका धार्मिक पुस्तक पढ्न आउने गरेका छन् । “युवापुस्ता सामाजिक सञ्जालबाट नै आवश्यक कुरा खोज्ने र मोबाइल, ल्यापटपमा नै पढ्ने गर्दछन् । सामाजिक सञ्जालका कारण मानिसमा पुस्तकालयमा आएर पढ्ने रुचि घट्दै गएको छ”, उहाँले भन्नुभयो । प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले प्रविधिको विकाससँगै पुस्तकालय पनि प्रविधियुक्त बनाउनुपर्ने बताउनुभयो । पुस्तक नपढेसम्म ज्ञान हासिल गर्न नसकिने भन्दै उहाँले पुस्तकालयप्रति अभिरुचि राख्ने र प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मितबन्धुले सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्दा नवीन ज्ञान हासिल गर्न सहयोगी हुने बताउनुभयो । “पुस्तकालयमा युवापुस्ताको रुचिका विषयसँग सम्बन्धित पुस्तक उपलब्ध हुनुपर्छ । स्रष्टाले पनि बद्लिँदो परिवेशअनुरुप पुस्तक लेख्नुपर्छ”, उहाँले भन्नुभयो । नेपालमा ज्ञान हासिल गर्नभन्दा मनोरञ्जनको साधनका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ थियो । त्यसैले बालबालिकालाई विद्यालयस्तरदेखि नै सामाजिक सञ्जालको सही प्रयोग गर्ने तथा पुस्तकप्रति अभिरुचि राख्नेखालका कार्यक्रम सञ्चालन गर्नसके पठन संस्कृतिलाई बचाई राख्न सकिने अध्यक्ष मितबन्धुले बताउनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *