नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज यहाँ विश्व मिर्गौला दिवसका अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले यससम्बनधी जनचेतना बढाउनुपर्ने बताउनुभयो । “राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्छ । स्वस्थ जीवन शैली अपनाइ समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक छ ।” दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा मिर्गाैला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्तरुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो । केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ । चिकित्सकका अनुसार प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने तथ्याङ्क छ । केन्द्रका निर्देशक श्रेष्ठका अनुसार मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ ।” प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेको उहाँले बताउनुभयो । स्थापना भएको १० वर्षमा केन्द्रले एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताउनुभयो । यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार, समाजसेवीको उपस्थिती थियो ।