वीर गणेशमान स्मृति ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तिम चरणमा

 

काठमाडौँ महानगरपालिका वडा नं २९ रुद्रमती किनारस्थित घट्टेकुलोमा वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद प्रकाशमान सिंहले सांसद पूर्वाधार विकास कोषबाट रु दुई करोड र बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रदेशसभा पूर्वाधार विकास कोषबाट प्रदान गर्नुभएको रु एक करोडबाट दुई वर्षअघि भवन निर्माण सुरु भएको थियो । कोरोना महामारीका कारण भवन निर्माणमा ढिलाइ भएको जनाइएको छ । वीर गणेशमान ज्येष्ठ नागरिक सेवा केन्द्रमा ८० जना वृद्धवृद्धालाई राखिने वडा नं २९ का अध्यक्ष कुश ढकालले राससलाई जानकारी दिनुभयो । दुई रोपनी क्षेत्रफलमा बनिरहेको ज्येष्ठ नागरिक भवन निर्माणपछि यस क्षेत्रका वृद्धवृद्धाका लागि सहज हुने विश्वास लिइएको छ । ठूलो हलसहित ७० कोठाको पाँचतले भवन बनाउन रु सात करोड लाग्ने अनुमान गरिएको छ । अब एक वर्षमा भवनको काम सकी केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ । भवन निर्माण सम्पन्नपछि ४० जनालाई सःशुल्क र ४० जनालाई निःशुल्क गरी ८० जना वृद्धवृद्धालाई सेवा दिने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ । समाजवादको सिद्धान्तअनुसार भएकाबाट शुल्क लिएर नभएकालाई निःशुल्क सेवा दिने गरी तयारी गरिएको छ । भवनको तल्लो तलामा ठूलो हलसहित स्वास्थ्य सेवासमेत दिने गरी संरचना निर्माण गरिएको छ । भवन निर्माणका लागि पूर्वाधार कोषबाट नभ्याएको रकम महानगरपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो । केन्द्रमा आराम गर्न र पत्रपत्रिका एवं पुस्तक पढ्न अन्य वृद्धवृद्धालाई पनि दिवा सेवा दिने तयारी पनि भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *