खोटाङ, २९ माघ (रासस) :
मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो । साना÷ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम-हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो । जिल्लाको प्रमुख मार्ग जयराम-हलेसी सडकको कालोपत्र तीन वर्ष नपुग्दै ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेपछि अहिले सवारीसाधन गुड्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ । ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाइ ओटासिल कालोपत्र गरेकाले समस्या सिर्जना भएको स्थानीय बासिन्दाको आरोप छ । कम्तीमा दशवर्ष टिक्नुपर्ने ओटासिल कालोपत्र तीन वर्ष नपुग्दै उप्किएको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका स्थानीय एवं नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव जीवन राई ‘सङ्गीन’ले बताउनुभयो । “कालोपत्र उप्किएपछि जीर्ण बनेको सडकमा दैनिक हजारौँ यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने, ठूलो दुर्घटना हुनसक्छ । समयमै सचेत हुन जरुरी छ । सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिले चासो दिनुप¥यो ।” ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्र गर्न लागेको भन्दै उसबेला सडक आसपासका स्थानीय बासिन्दाले सङ्घर्ष समितिसमेत गठन गरेर आन्दोलनसमेत गरेका थिए । स्थानीय बासिन्दाको आन्दोलनका बीच स्वच्छन्द-भगवती निर्माण सेवाले दुई वर्ष लगाएर जयराम-हलेसी सडक ओटासिल कालोपत्र गरेको हो । विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच (ओटासिल कालोपत्र) उप्किएपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुहरुको गुनासो छ । “गाडीभित्र धुलो छिरेर सास फेर्नसमेत असहज हुन्छ । खाल्डाखुल्डीमा गाडी पस्दा टाउको ठोक्किँएर टुटुल्को उठ्छ”, एक यात्रीले भने, “लामो समयदेखि हामी यात्रुहरुले सास्ती भोग्दै आएका छौँ । यसको विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो दिएका छैनन् । यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ ।” जयराम–हलेसी सडक ओटासिल कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आवतजात गर्ने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतका स्थानीयसमेत व्यक्तिगत तथा रिजर्भ गाडी लिएर आउने गरेका छन् । जयरामदेखि हलेसीसम्मको सडकमा हजारौँ खाल्डाखुल्डी हुँदा त्यसमा परेर दर्जनौँ सवारी साधन बिग्रिसकेको खोटाङ यातायात प्रालि खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो । “जयराम–हलेसी सडक वानवे (एकतर्फीमात्र गाडी चल्ने) अवस्थाको छ”, उहाँले भन्नुभयो, “वानवे सडकमा रहेको खाल्डाखुल्डी जोगाएर गुडाउँदागुडाउँदै विपरीत दिशाबाट अर्को गाडी आउँछ । त्यसलाई साइट (बाटंो) दिँदा खाल्डोमा पस्छ । खाल्डोमा पसेको गाडी निकाल्दा क्षति हुने गरेको छ ।” ओटासिल कालोपत्र उप्किएर दुर्घटनाग्रस्त बनेको जयराम–हलेसी सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा डिएस कन्ट्रक्सन प्रालि हेटौँडाले लिएको छ । विसं २०८० असार–२२ गतेभित्र सक्नेगरी विसं २०७७ जेठ–२८ गते रु ११ करोड ७८ लाख १३ हजार ७७९ मा ठेक्का लिएको उक्त सडकको काम अहिले ठप्प छ । जयराम–हलेसी सडक मर्मतको काम सुस्त देखिएपछि दुई महिनाअघि ठेकेदार कम्पनीलाई कार्यालयमा झिकाएर तत्काल बाँकी काम पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताउनुभयो । “आज अनुगमन गर्दा निर्माणस्थलमा चार जनामात्रै कामदार देखियो”, उहाँले भन्नुभयो, “तत्कालै सडक विभागका डिभिजनल इन्जिनियरलाई फोन गरेर तपाईंहरु काम लगाउन सक्नुहुन्न भने लेखेर दिनुस् । म प्रहरी पठाएर कारबाहीको दायरामा ल्याउँछु भनेको छु । उहाँले आफै अनुगमनमा आएर काम लगाउने बताउनुभएको छ ।” ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक ध्रुव कार्कीले जयराम–हलेसी सडक मर्मतको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । “यसअघि गरिएका कामको भुक्तानी रोकिएकाले काम बन्द गरिएको थियो”, उहाँले भन्नुभयो, “रोकिएको भुक्तानी पाइसकेका छौँ । अब तत्काल कामदार खटाएर बाँकी काम पूरा गछौँ ।” खोटाङका जनताको समृद्धिसँग जोडिएको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम-हलेसी सडकखण्ड मर्मतको काम तत्काल पूरा गर्न पटक-पटक निर्देशन दिइएको खोटाङ क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताउनुभएको छ । छिमेकी जिल्ला भोजपुरका स्थानीयलेसमेत उपयोग गर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोटिर) सेखुवा–चखेवाभञ्ज्याङ अहिले कालोपत्रको काम भइरहेको छ । भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभीले ठेक्का लिएको उक्त सडक आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि विमल अधिकारीले प्रतिबद्धता जनाउनुभएको छ । ठेकेदार कम्पनीले विसं २०७५ फागुन ३० भित्र सम्पन्न गर्नेगरी विसं २०७२ चैत २ गते रू ३२ करोडमा सडक विभागसमक्ष ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि चौँथो पटक थपिएको समयावधिसमेत गत जेठ मसान्तमा सकिएको उक्त सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ ।