टर्कीका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गर्नुभएको छ । गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । “धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उहाँले भन्नुभयो । आजै उहाँ यहाँको बस्तुस्थिति बुझ्न आउनुभएको हो । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।